डोल्पामा गर्भवतीलाई नि:शुल्क ‘क्याल्सियम’


डोल्पा । ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गर्न आउने गर्भवती महिलाका लागि नि:शुल्क क्याल्सियम वितरण सुरु गरिएको छ ।
हिमालयन फेमली हेल्थ केयर र डोल्पा घर भई हाल अमेरिका बस्ने प्रकाश शाहीको आर्थिक सहयोगमा नि:शुल्क क्याल्सियम वितरण आजबाट सुरु गरिएको हो ।
नेपाल सरकारले स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न आउने सबै गर्भवती महिलालाई नि:शुल्क आइरन चक्की वितरण गरे पनि क्याल्सियम भने किन्नुपर्छ ।
देश विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर जिल्लामा नि:शुल्क क्याल्सियम वितरण गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायले बताए ।
उनले भने ‘सरकारले आइरन चक्कीमात्र नि:शुल्क दिन्छ, क्याल्सियम किन्नुपर्छ, कतिपय गर्भवतीले क्याल्सियम किनेर खाने अवस्था छैन्’, भन्छन्, ‘त्यस्तालाई नि:शुल्क क्याल्सियम दिन्छौं, जसले आमा बच्चाको स्वास्थ्य राम्रो होस भन्ने उदेश्य हो ।’
यसै अभियान अन्तर्गत दुई महिना अघिमात्र ९० जना गर्भवतीलाई नि:शुल्क क्याल्सियम वितरण गरिएको थियो । यसबाट एउटा गर्भवतीको तीन हजारसम्म रकम जोगिने बताइएको छ ।
गर्भवती भएको महिनाबाट तीन महिना कटेदेखि सुत्केरी भएको तीन महिनासम्म आइरन चक्की र क्याल्सियम खानुपर्ने र यसले हड्डी बलियो बनाउनुका साथै रक्तचाप, कोल्डस्टोर नियन्त्रण गर्ने चिकित्सकहरु बताउँछन् । जिल्लाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिकाले पालिकाको बजेटबाट खरिद गरेर नि:शुल्क क्याल्सियम वितरण गर्ने गरेको छ ।



कर्णालीपाटी । १४ बैशाख २०८२, आईतवार ०९:१५