१४ मंसिर २०८२, आईतवार

नागरिक स्वास्थ्य परिक्षण शुभारम्भ

४० बर्ष उमेर कटेका नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिने


सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुुभारम्भ गरेको छ । ४० वर्ष उमेर कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोगको निःशुल्क परिक्षणका साथै उपचार गर्न यो कार्यक्रमको लागू गरिएको हो ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट कर्णालीका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री भण्डारीले कर्णालीका सबै स्थानीय तहमा नसर्ने रोगहरुको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको बताए ।
नागरिकहरुको अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको भन्ने तथ्याङ्कका आधारमा नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ गरिएको बताए । ‘४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परिक्षण गरी कर्णालीको समग्र स्वास्थ्यको अवस्था पत्ता लगाउनु पनि हो’ उनले भने, ‘नसर्ने रोगहरुबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनिकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ ।’
कार्यक्रम मार्फत स्क्रिनिङ गरिएको तथ्याङ्कको आधारमा भावी स्वास्थ्य रणनीति तय गर्न सघाउ पु¥याउने विश्वास उनले गरे । प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमलाई नीतिगतरुपमा व्यवस्थित गरी अघि बढाइएको उनले बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङ्गले प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको कार्यक्रममा ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य परीक्षण प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिने गुरुङ्गको भनाई छ ।


आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने उनको भनाई छ । उनका अनुसार ७९ वटै स्थानीय तहको केन्द्रमा रहेका स्वास्थ्य संस्थामा तीन दिन ४० वर्ष माथिका नागरिकहरुको स्वास्थ्य जाँच तथा परिक्षण गरिने छ ।
कार्यक्रम अन्तर्गत प्रयोगशाला नभएका स्वास्थ्य संस्थामा नमूना संकलन गरी नजिकका रणनैैतिक तथा आधारभूत अस्पतालमा परिक्षणका लागि पठाइने छ । प्रयोगशाला भएका स्वास्थ्य संस्थामा नमूना परिक्षणसँगै कैफियत देखिए उपचार गरिने छ । यस्ता स्वास्थ्य संस्थामा उपचार सम्भव नभए जटिलताका आधारमा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने नागरिक स्वास्थ्य परिक्षण कार्यक्रममा फोकल पर्सन किरण शर्माले बताए ।
कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने गरी विशिष्टिकृत अस्पताल तोकिएको छ । कार्यक्रमले उच्च रक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मृगौला सम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको शर्माले बताए ।