नरहरिनाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

कालीकाेट: जिल्लाको नरहरिनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ । ‘स्थानीय दायित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ शुक्रबार जिल्ला समन्वय समिति कालीकोटका प्रमुख तथा खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका हुन् ।
नरहरिनाथ गाउँपालिकाले उत्साह र उमङ्गका साथ काम गरेर पालिकालाई पूर्ण खोप बनाउन सहज भएकोबारे जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीले यो अभियानले निरन्तरता पाउनु ठूलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।
नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सहकारीले बताए । गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको भेटघाट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।
पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि नरहरिनाथ गाउँपालिकाका प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा ९० प्रतिशत खोप लगाएको भेटिएकाले पुर्ण खोप घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
नरहरिनाथमा आमा र बाल बच्चाको मृत्युदर खोप अभियानले घटेको भन्दै आगामी दिनमा नयाँ–नयाँ स्वास्थ्य रणनीति तयार गरी लाग्नु पर्ने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले सुझाव दिए ।
जिल्ला खोपसमन्वय समितिका सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कटक महतले अभियानलाई सार्थक र परिणाममुखी बनाउन सबैको जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुुख मिना रावत विकले नरहरिनाथका नागरिकले स्वास्थ्य सेवामा प्राप्त गरेको उपलब्धिलाई निरन्तरता दिनुपर्ने बताइन् । स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले भौतिक पुर्वाधार र सामाजिक बिकास सँगसँगै लैजानुपर्ने बताईन् ।



पुष्पराज भट्टराई । ६ असार २०८२, शुक्रबार १७:५८