कर्णालीमा कृषि उत्पादनः फलफूल, तरकारी बढ्यो, पशुजन्य घट्यो


सुर्खेत । कर्णाली प्रदेशमा तरकारी, फलफूल उत्पादनमा वृद्धि भएको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले जनाएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–०८२ को अर्धवार्षिक प्रतिवेदनमा तरकारी र फलफूल उत्पादनमा वृद्धि भएको उल्लेख छ । आर्थिक वर्ष २०८१–८२ को समिक्षा अवधिमा तरकारी उत्पादन र फलफूल खेतीको उत्पादन क्रमशः २२.७४ प्रतिशत र ४४.७३ प्रतिशतले बढेको पाइएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्म कर्णालीमा तरकारी तथा बागबानी उत्पादन २२.७४ प्रतिशतले वृद्धि भई दुई लाख ३१ हजार चार २८ मेट्रिक टन पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो उत्पादन ६.८ प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा तरकारी उत्पादनमा २५.९७ प्रतिशतले वृद्धि भएको छ भने गत वर्षको यही अवधिमा तरकारी उत्पादनमा ७.४० प्रतिशतले ह्रास आएको थियो ।
यस अवधिमा कर्णालीमा फलफूल उत्पादन ४४.७३ प्रतिशतले वृद्धि भई एक लाख ६ हजार ३३ मेट्रिक टन पुगेको छ । फलफूलमध्ये सुन्तलाको उत्पादन उत्पादन उल्लेख्य बढेको छ । आँप १२.७४, केरा ४१. ७ र स्याउ उत्पादन २.८० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्म प्रदेशको कुल खाद्य तथा अन्य बाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २२.९० प्रतिशत सल्यानको छ भने सबैभन्दा कम हिस्सा १.७० प्रतिशत डोल्पा जिल्लाको छ । फलफूल उत्पादनमा सबैभन्दा बढी हिस्सा ३०.९४ प्रतिशत सुर्खेतको रहँदा सबैभन्दा कम जाजरकोटको २.६९ प्रतिशत हिस्सा छ ।
घट्यो कृषि क्षेत्रफल
कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको जग्गा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.११ प्रतिशतले घटेको देखिएको छ । यस अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौले ढाकेको क्षेत्रफलमा ह्रास आएको छ भने तरकारी र फलफूल बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले बढेको छ भने खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ४.८३ प्रतिशतले घटेको छ ।
२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.७१ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत अवधिको तुलनामा १४.१ प्रतिशतले वृद्धि भएको तथ्यांक छ ।
उद्योग कर्जामा वृद्धि
राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म कर्णालीमा औद्योगिक कर्जा गत अवधिको तुलनामा १४.९५ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.४१ प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतको तथ्यांक छ । त्यस्तै कागज तथा कागजका उत्पादनसम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९७ प्रतिशत छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २६ प्रतिशत छ । यस अवधिमा यस प्रदेशमा भित्रिने पर्यटकको संख्यामा ११.९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै आर्थिक वर्ष २०८१–८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । यो अवधिमा कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१.५, ९.६ र ५८.९ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ ।
दुध, अण्डा र माछा उत्पादन न्यून
सात प्रदेशमध्ये दुध, अण्डा र माछा उत्पादनमा कर्णाली प्रदेश पुछारमा देखिएको छ । दूध उत्पादनको बागमती प्रदेशमा सबैभन्दा बढी ४३.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.७४ प्रतिशत रहेको छ । मासु उत्पादनमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २७.०३ प्रतिशत हुँदा कर्णाली प्रदेशमा सबैभन्दा कम ५.३७ प्रतिशत रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख रहेको छ । अण्डा उत्पादनमा बागमती प्रदेशमा सबैभन्दा बढी ५०.०७ प्रतिशत, कर्णाली प्रदेशमा हिस्सा सबैभन्दा कम १.६४ प्रतिशत रहेको छ । यसैगरी, माछा उत्पादनमा मधेश प्रदेशमा सबैभन्दा बढी ३९.४५ प्रतिशत र कर्णाली प्रदेशमा हिस्सा सबैभन्दा कम ०.२७ प्रतिशत रहेको छ ।



कर्णालीपाटी । ४ श्रावण २०८२, आईतवार ०७:०६