१४ मंसिर २०८२, आईतवार

सहिद परिवार र घाइतेलाई ९ करोडभन्दा बढी वितरण


सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा सशस्त्र द्वन्द्वपीडित सहिद परिवार र घाइतेहरूलाई सम्मान र जीवन निर्वाहका लागि कुल ९ करोड ६९ लाख ८४ हजार रुपैयाँ भत्ता वितरण गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त कार्यक्रमबाट प्रदेशभर ४ हजार ४१ जना लाभान्वित भएका छन्। मन्त्रालयले सहिदका परिवारलाई सहिद स्मृति भत्ताु र घाइतेहरूलाई जीवन निर्वाह भत्ताु वितरण गर्दै आएको छ।

तथ्यांकअनुसार, २ हजार १ सय २१ जना सहिद तथा बेपत्ता व्यक्तिका परिवार र १ हजार ९ सय २० जना द्वन्द्व घाइतेले यो भत्ता पाएका छन्। सहिद तथा बेपत्ता परिवारलाई ५ करोड ९ लाख ४ हजार र घाइतेलाई ४ करोड ६० लाख ८० हजार रुपैयाँ वितरण गरिएको मन्त्रालयका सूचना अधिकारी तुलसीप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार, प्रत्येक लाभान्वितले मासिक २ हजार रुपैयाँका दरले वार्षिक २४ हजार रुपैयाँ भत्ता प्राप्त गर्छन्। प्रदेशका सबै जिल्लामा यो कार्यक्रम लागू भए पनि सबैभन्दा बढी लाभान्वित हुनेमा कालिकोट र सल्यान रहेका छन्। स्थानीय तहमध्ये सल्यानको बागचौर नगरपालिकामा सबैभन्दा धेरै २ सय ९८ जनालाई जसमा ९ सय ४७ जना सहिद परिवार र २ सय ५१ जना घाइते छन्, कुल ७१ लाख ५२ हजार रुपैयाँ वितरण गरिएको हो।

मन्त्रालयको यो कार्यक्रमले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सहिदको परिवारप्रति सम्मान प्रकट गर्नुका साथै घाइतेको जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। प्रदेश सरकारले यो भत्ताले पीडित परिवारलाई सानो भए पनि आर्थिक राहत पुग्ने विश्वास लिएको छ।