राष्ट्रिय परिचयपत्र बनाउन सकस

कालीकाेट: कालीकाेटकाे पलाता गाउँपालिका–५ की खिन्ता शाहीलाई राष्ट्रिय परिचयपत्र पाउन दुई दिन लाग्यो । खिन्ता शाही आफन्तकाे सहयाेगमा मान्म आएकी हुन् ।
पलाता दूरीका हिसावले सदरमुकाम मान्मबाट टाढा रहेकाे छ । सामाजिक सुरक्षा भत्ता लिन, बैंकमा खाता खोल्नलगायतका प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि कालीकाेटका आम नागरिक समस्यामा परेका छन् । कालिकोटको पलाँता गाउँपालिका–५ कै वीर बहादुर बम राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कालिकोट आएको दुई दिन भयो । आईतबार विहान घरबाट हिँडेका उनीसहितको टोली दिउँसो प्रशासन कार्यालय आइपुगेको थियो । हिजैदेखि लाइनमा लागेका छौं, कहिले बन्ने हो थाहा छैन बमले भने । उनले यसअघि नागरिकता देखाएर आफूले सामाजिक सुरक्षा भत्ता लिने गरेको बताए । ‘हिजोआज भत्ता लिनका लागि अर्कै कागज चाहिने रहेछ,’ उनले भने, ‘त्यहीँ बनाउनका लागि हामी यहाँ आयाका हौं ।’
नरहरिनाथ गाउपालिका–३ का ७० वर्षीया काशिराम उपाध्यायलाई राष्ट्रिय परिचयपत्र बनाउन तीन दिन लाग्याे, उनका आफन्त बुहारीले जिल्ला प्रशासनमा ल्याएकी थिईन् ।
‘सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई प्रशासन कार्यालयसम्म ल्याइ पु¥याउन निक्कै गार्हाे रहेछ,’ उपाध्यायले भने, ‘दुरीका हिसावले नरहरिनाथ सदरमुकामबाट नजिकै छ टाढाका नागरिकलाई हिँडेर आउदा झन कति सास्ती होला ?’
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यतिबेला जिल्ला प्रशासन कार्यालय कालिकाेटमा आम नागरिकहरुको भीड लाग्ने गरेको छ । चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि प्रशासन कार्यालयमा बिहाननैदेखि भीड लाग्ने गरेको छ । पलाँताका बीरबहादुर बमले सेवा लिन असहज भएको बताए । ‘हामी टाढाबाट आउनेहरुका लागि सरकारले चाँडो काम गरेर पठाइदिए हुन्थ्यो,’ उनले भने, ‘समयसँगै पैसाको सत्यानास भइरहेको छ ।’ राष्ट्रिय परिचयपत्र बनाउनै ८/९ हजार खर्च हुन्छ ।
कालिकोट प्रशासनमा राष्ट्रिय परिचयपत्र लिनका लागि एउटा मात्रै दर्ता स्टेशन छ । जसले गर्दा सेवा लिन ढिलो हुने गरेको छ ।
चापलाई कम गर्न बिहानी सेवा
जिल्ला प्रशासन कार्यालय कालीकोटले राष्ट्रिय परिचयपत्र बनाउने नागरिकको चाप बढेपछि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म सेवा सूरू गरेकाे छ । सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले १७ गते बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा सुरु गरेको हो ।
नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि जिल्ला प्रशासन कार्यालय पुग्नेकाे चाप बढेकाे छ । उनिहरुको सहजताका लागि अर्को व्यवस्था नहुँदासम्म यो सेवा सुचारु रहने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका साहयक प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्माले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालयको सेवा अबधि बढाएको सूचना मार्फत जानकारी गराएका छन् । उनले सेवाग्राहीको चाप नघटेसम्म यो समयमा कार्यालयबाट सेवा सञ्चालन हुने बताए ।
सदरमुकाम मान्मबाट टाडाका नागरिकले धेरै दुःख पाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बिहानी सेवा सुरु गरेकाे हाे ।



पुष्पराज भट्टराई । १७ भाद्र २०८२, मंगलवार १८:१२