१४ मंसिर २०८२, आईतवार

तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै ग्रामिण भेगका महिला


कालिकोट -जिल्लाको शुभकालीका गाउँपालिकाका महिलाहरूले आफ्नो खेतबारीलाई व्यावसायिक बनाउँदै आत्मनिर्भरता हासिल गरेका छन्। स्थानीय स्तरमै तरकारी उत्पादन र बिक्री गरेर उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन्।
ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपालद्वारा सञ्चालित सहयात्रा–३ परियोजना अन्तर्गतको जलवायु परिवर्तन तथा हरित रोजगार कार्यक्रम मार्फत महिलाहरू व्यवसायिक तरकारी खेतीमा सक्रिय भएका छन्।
शुभकालीका गाउँपालिका–३ का किसान बुदा शाही भन्छन्, “पहिला हामीले केवल आफ्नै खानको लागि तरकारी उत्पादन गर्थ्यौं। बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने थाहा थिएन। भिडिसेफ नेपालबाट तालिम, बीउबिजन, टनेल र प्राविधिक सहयोग पाएपछि अहिले हामी व्यवसायिक तरकारी खेती गरेर आम्दानी गर्दैछौं।”


उनका अनुसार, मासिक ३०-४० हजार रुपैयाँसम्म तरकारी बिक्री हुँदै आएको छ। आफ्नो बारिमा टमाटर, काक्रा, काउली, बन्दा, सिमी, खुर्सानी र प्याज उत्पादन गर्दै आएका उनले, आफन्तलाई कोसेलीका रूपमा दिएका तर बाँकी काक्रा बिक्री गरेर १५ हजार रुपैयाँ आम्दानी गरेको बताए। शाहीले व्यवसायिक तरकारी खेतीले भारत वा खाडी मुलुक जान नपरी रोजगारीको विकल्प प्रदान गरेको बताए।
२३ जनाको समूहमार्फत तरकारी उत्पादन गर्दै आएका देउती बजै कृषक समूह की सचिव शान्ति चौलागाईंले भनिन्, “समूह गठन गरे पनि धेरै महिला व्यक्तिगत रूपमा व्यवसायमा संलग्न छन्। सामान्य खर्चका लागि बाहिरको मद्दतको आवश्यकता कम भएको छ। पहिले घरका सदस्यहरू रोजगारीका लागि भारत जान्थे, तर अहिले सबै खर्च तरकारी व्यवसायबाट चलिरहेका छन्।”


व्यवसायिक तरकारी खेतीका लागि तालिम, बीउबिजन, ड्रम र बिषादी सहयोग प्राप्त गरेपछि शुभकालीका–३ की बिष्णुमाया खड्का र जुनपुरा शाहीले पनि तरकारी व्यवसायमा सफलता हासिल गरेका छन्। उनीहरूले पहिले गाउँमा तरकारी बिक्रीबाट आम्दानी गर्न सकिने भन्ने जानकारी नभएको तर अहिले व्यवसायिक खेतीबाट आत्मनिर्भर भएको बताए।
पछिल्ला केही महिनामा शुभकालीका गाउँपालिकाका अधिकांश महिलाहरूले टमाटर, गोलभेंडा, मुला, बन्दा, प्याज, आलु, सिमी, काक्रा लगायतका तरकारी उत्पादन गरेर स्थानीय बजारमा बिक्री गरिरहेका छन्। यसले बाहिरी जिल्लाबाट तरकारी भित्र्याउने खर्च घटाएको छ भने किसानहरूको आम्दानी बढाएको छ।
भिडिसेफ नेपाल–कालिकोटका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीका अनुसार, “स्थानीय महिलाहरूलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न उनीहरूको खेतबारीमा गई प्राविधिक ज्ञान र मौसमी तथा बेमौसमी बीउ वितरण गरिँदै आएको छ।”

 सहयात्रा परियोजनाले शुभकालीका गाउँपालिका र तिलागुफा नगरपालिकामा जलवायु परिवर्तन, हरित रोजगार, शिक्षा, बाल अधिकार र बाल संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको परियोजना व्यवस्थापक मान बहादुर शाहीले बताए।

महिलाहरूको व्यवसायिक तरकारी खेतीले न केवल गाउँको अर्थतन्त्रमा योगदान पुर्याएको छ, तर समुदायमा आत्मनिर्भरता र रोजगारी सिर्जना गर्ने प्रेरणास्रोत पनि बनेको छ।