४ जेष्ठ २०८१, शुक्रबार

गर्मी याममा रोगबाट कसरी बच्ने ?


केही दिनयता काठमाडौं लगायत देशका विभिन्न स्थानमा गर्मीको उत्यधिक महसुस गरिएको छ। शनिबार राजधानी काठमाडौंको तापक्रम अधिकतम ३३ डिग्री सेल्सियस थियो भने न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस रहेको थियो।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार नै सबैभन्दा बढी तापक्रम भैरहवामा ४३ दशमलव ३डिग्री सेल्सियस रहेको थियो भने नेपालगञ्जमा ४३ डिग्री सेल्सियस थियो। विज्ञहरु मनसुन भित्रिन केही ढिलाइ भएकाले गर्मी बढेको अनुमान गर्छन्। गर्मीको समयमा आफ्नो स्वास्थ्यको हेरचाह गर्नका निम्ति गरिने आहारबिहारले महत्वपूर्ण भूमिका खेल्नसक्छ।

आयुर्वेद चिकित्सा अन्तर्गतको चरक संहितामा वर्णन भएको गृष्म ऋतुचर्या सबैले पालना गर्नुपर्ने देखिन्छ। जेठ र असार महिनामा गृष्म ऋतुका प्रभावहरु मानिसमा देखिन्छन्। सूर्यद्वारा पृथ्वीको सोमको शोषण हुनुको कारण शरीरमा गर्मी बढेर पसिना आउनुका साथै बलक्षय समेत हुन्छ। त्यसकारण सात्म्यरसका रुपमा मधुर रसको सेवन जरुरी हुन्छ। त्यस्तै सात्म्य (हित) आहार अन्तर्गत रहेर शीतल, द्रव, स्निग्ध अन्नपान, शीतल मधुर मन्थ घृत, दूध, शाल्यन्न सेवन गर्नुपर्ने हुन्छ। सात्म्यविहार अन्तर्गत रहेर दिवा कालमा शीतगृह सयन गर्नुपर्ने हुन्छ भने रात्रिकालमा चन्द्रकिरण अटालीमा सयन गर्नुपर्ने हुन्छ।

अरु सात्म्य विहारहरुमा चन्दनलेप, पंखाको प्रयोग, वन उपवन विहारहरु पर्दछन्। त्यस्तै असात्म्य(अहित) आहारहरुमा लवण, अम्ल र कटु रसका साथै उष्ण र मद्य पदार्थहरु पर्दछन्। साथै व्यायामजन्य विहारहरु यस ऋतुमा अहित मानिन्छन्। बुझ्नुपर्ने कुरा, बजारमा पाइने कोल्ड ड्रिंक्स, अप्राकृतिक जुसहरु भन्दा घरेलु दही, मही तथा जौको सातुहरु बढी फाइदाजनक देखिन्छन्। गर्मीको समयमा पानी, हावा, लामखुट्टे लगायतका किटहरुबाट सरुवा रोगको संक्रमण हुने सम्भावना उच्च रहन्छ। पानीबाट विशेषगरी टाइफाइड, झाडापखला, हैजा, स्पाइरोसिस लगायतका रोग सर्नसक्छन्। त्यस्तै रुघाखोकी, इन्फ्लुइन्जाहरु हावाबाट सर्न सक्छन्।

लामखुट्टेबाट मलेरिया, डेंगु लगायतका रोगहरु सर्नसक्छन्। यसका लागि समयमै रोकथामका साथै उचित आहारविहारमा ध्यान पुर्‍याउनुपर्छ। उमालेको शुद्ध पानी मात्र पिउने, सफा साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने गर्नुपर्छ। बासी, फोहोर, झिंगा भन्केका खानेकुरा खानुहुँदैन। संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्रीहरु निर्मलीकरण गरेर मात्र प्रयोग गर्नुपर्छ। भिडभाड स्थानमा जाँदा अनिवार्य माक्स लगाएर मात्र जाने गर्नुपर्छ। लामुखुट्टेबाट बच्न सुत्ने बेलामा झुलको प्रयोग र घर वरपर पानी जम्ने स्थानको सरसफाइमा ध्यान दिनुपर्छ। यसरी गर्मी याममा, आहारविहारमा ध्यान दिनसके संक्रमणजन्य रोगबाट बच्नुका साथै सरल र सफल जीवनयापन गर्न सकिन्छ।