१३ बैशाख २०८१, बिहीबार

वीरेन्द्रनगरले सेनेटरी प्याड वितरण गर्ने


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको वीरेन्द्रनगर नगरपालिकाले महिलाहरुलाई सेनेटरी प्याड वितरण गर्ने भएको छ । नगरपालिकाले महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्नका लागि २० लाख बजेट विनियोजन समेत गरेको छ । नगरभित्र रहेका महिलाहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी गराउन र स्वास्थ्य चेतना बृद्धिका लागि नगरभित्रका प्रत्येक स्वास्थ्य केन्द्रबाट महिनामा एक प्याकेटका दरले महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्नेे योजना ल्याएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।
किशोरीहरुका लागि संघीय सरकारले प्रत्येक विद्यालयमा प्याड वितरण गरिरहेको हुँदा नगरपालिकाले महिला केन्द्रित प्याड वितरण गर्ने योजना ल्याएको उनले बताए । उनले, ‘किशोरीहरुलाई पोहोरसाल प्याड वितरण गरिसकेका छौ, र अहिले संघीय सरकारले किशोरीहरुका लागि प्याड वितरण गरिरहेको छ । त्यसमा डुप्लिकेशन हुन्छ भनेर नै हामीले महिला केन्द्रित बनाएर यो योजना ल्याएका हौ ।’
नगरप्रमुख सुवेदीले वीरेन्द्रनगर नगरभित्रका वडाहरुमा रहेका स्वास्थ्य केन्द्रमा सेवा लिन आउने महिलालाई मात्रै प्याड वितरण गरिने जनाए । उनले भने, ‘हामीले नगरभित्र रहेका स्वास्थ्य केन्द्रमा आउने महिलालाई मात्रै प्याड वितरण गर्ने छौ, किनभने अहिले घर घरमा सबै महिलाहरुलाई प्याड वितरण गर्न सक्दैनौ र जो महिला स्वास्थ्य केन्द्रमा सेवा लिन आउँनु हुन्छ उहाँहरुलाई प्याडको पनि व्यवस्था हुन्छ ।’ उनले थपे, ‘अब नगरभित्रका १६ वटा वडाको जनसंख्याकै आधारमा त महिलाहरुलाई कहाँ प्याड वितरण गर्न सकिन्छ र त्यसरी त २० लाख बजेटले पनि सकिदैँन । त्यसैले गर्दा स्वास्थ्य केन्द्रमा सेवा लिन आउने महिलालाई मात्रै प्याड वितरण गर्ने योजना ल्याएका हौ ।’
नगरप्रमुख सुवेदीले अहिले स्वास्थ्य केन्द्रमा आउने महिलाहरुका लागि प्याड वितरण गर्ने योजना यही १५ गते बजेट पारित भएलगतै कामको सुरुवात गरिने जनाए । उनले भने, ‘अब यो कार्यक्रम अहिले कतिको प्रभावकारी हुन्छ, त्यो हेरेर पनि हामीले यो कार्यक्रमलाई निरन्तरता दिने की नदिने भनेर पछि छलफल गरेर नै योजना गर्छौ ।’ महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना प्रभावकारी भएपछि नगरप्रमुख सुवेदीले यो योजनालाई निरन्तरता दिनेसमेत प्रतिवद्धता व्यक्त गरे ।
नगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाका उपसंयोजक सिता शर्माले नगरपालिकाले महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजनाले नगरभित्रका स्वास्थ्य केन्द्रमा सेवा लिन आउने महिलाहरुलाई धेरै राहत हुने बताईन् । उनले स्वास्थ्य केन्द्रमा अन्य सेवा लिन आउने महिलाले पनि प्याड पाउँदा धेरै खुशी हुने जनाईन् ।