१९ बैशाख २०८१, बुधबार

यी हुन् सर्वसाधारणको लाखौं रकम ‘ठगी’ गर्ने ‘पूर्वमाओवादी’ कार्यकर्ता

सुजाता कोइरालादेखि गणेश लामासम्मको नाम बेचेर असुली !

नेकपा अध्यक्ष प्रचण्ड र एक नम्बर प्रदेश सह–इञ्चार्ज काफ्लेका बीचमा जीवन ।

काठमाडौं । नेकपाका केही नेतासँग हिमचिम रहेको देखाउँदै एक जना ‘पूर्वमाओवादी’ कार्यकर्ताले कम्पनी खडा गरी लाखौं रकम ठगी गरेको खुलेको छ । इम्पेट्स टेक्नोलोजी नेपाल प्राली स्थापना गरी जीवन गुरागाँईले त्यसमार्फत विभिन्न सर्वसाधारणका कम्पनीमा लाखौंको सामान दिने नाममा रकम उठाउने र पछि फिर्ता माग्दा पैसा नै नभएको खाताको चेक दिने गरेको खुलेको हो । गुरागाँईले दिने अधिकांश चेक बाउन्स हुने गरेको पीडितहरूले बताएका छन् ।

उक्त कम्पनीमा करोडौं रकमको शेयर आउन लागेको र आउनासाथ पैसा दिने भन्दै पटक–पटक सर्वसाधारणलाई ठगी गरेका प्रमाणहरू दैनिक नेपालले फेला पारेको छ । गुरागाँईले विविध माध्यमबाट विभिन्न व्यक्ति र कर्मचारीका नाममा रकम माग गर्ने र पछि फर्मको नाममा चेक दिने गरेका छन् । उनले पीडित बनाएका मध्येका एक हुन्, इटहरीका ढुण्डीराज गुरागाँई । आफन्तको साइनो लगाउँदै जीवनले ढुण्डीराजको मात्र २९ लाख रुपैंया रकम पचाएका छन्, जुन फिर्ता दिएका छैनन् ।

सिंहदेवी सप्लायर्सका नाममा जीवनले २६ माघ २०७५ मा काटेको एनआईसी एसीयाको बैंकको २९ लाखको चेक, जुन खातामा रकम नै छैन ।

यी बाहेकका कतिपयका लाखौं रकम जीवनले उठाएको र पीडित बनाएको विवरणहरू प्राप्त भएका छन् । जसको स्वतन्त्र पुष्टि गर्ने क्रम जारी छ । नेपाल कम्युनिस्ट पार्टीका प्रदेश १ का सह–इञ्चार्ज सावित्रि काफ्लेसँग नजिक रहेका गुरागाँईले आफू नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि नजिक रहेको भन्दै विश्वासमा दिलाउने गरेका थिए । सिंहदेवी सप्लायर्सका नाममा जीवनले २६ माघ २०७५ मा काटेको एनआईसी एसीयाको बैंकको २९ लाखको चेक, जुन खातामा रकम नै छैन ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँग जीवन ।

एक हप्ताका लागि भनेर रकम लैजाने र विविध बाहना बनाउँदै बर्ष दिन बित्दा पनि गुरागाँईले रकम फिर्ता गर्नु त परै जाओस् सम्पर्कमा आउने समेत गरेका छैनन् । पीडित ढुण्डीराजसँग २ लाख, ७ लाख हुँदै २० लाखसम्म पटक–पटक गरी २९ लाख रकम जीवनले लगेका थिए । ढुण्डीराज इटहरीमा सिंहदेवी सप्लार्यमार्फत व्यापार गर्छन् । ‘पहिलो चरणमा खेम भट्टराईका नाममा २ लाख पठाउन भन्नुभयो, पठाइदिएँ । त्यसपछि ७ लाख माग गर्नुभयो दिएँ’, ढुण्डीराजले भने,‘पछि सामान पठाउँछु भनेर केही दिनका लागि २० लाख रकम लगेका थिए ।’ सुजाता कोइराला, गणेश लामा, प्रचण्डमात्र नभएर विविध नेतासँगका सम्बन्ध सुनाउन थालेपछि विश्वास गरेको ढुण्डीराज बताउँछन् ।

२७ साउन ०७५ मा एक साताका लागि भनेर जीवनले उक्त रकम लगेका थिए । आफूसँग रकम नभए पनि ऋण खोजेर ढुण्डीराजले पछिल्लो पटक २० लाख रकम दिएका थिए । जीवनले पहिलो चरणमा बैंक अफ काठमाडौंको चेक दिएका थिए जुन नसाटिएपछि फिर्ता लिएर महिनौंसम्म गायब भए । पीडितका अनुसार २६ माघ ०७५ मा खोजी गरी भेटिएपछि काठमाडौंको अर्याल होटलमा राखेर जीवनले २९ लाखको चेक ढुण्डीराजको कम्पनी सिंहदेवी सप्लार्यस्का नाममा दिए । तर, त्यो पनि साटिएन । त्यसपछि सोही कम्पनीका नाममा १५ लाखको नबिल बैंकको अर्को चेक दिएका थिए, सो पनि नसाटिए पछि जीवनले आफूसँग ‘फ्रड’ गरेको निधोमा पुगे, ढुण्डीराज ।

‘अहिले सम्पर्कविहीन भएका छन् । उनलाई चिन्ने नेतालाई पनि आफूले पाएको दुखको बारेमा भनेको छु’, पीडित भन्छन्,‘सुनुवाई भएको छैन ।’ पछिल्लो पटक कम्पनीमा तुलाप्रसाद शेरचनको ७ करोड आउने भयो, पैसा पाइन्छ भनेर जीवनले झूठो आश्वासन दिएको पीडितको गुनासो छ ।

उनले सुर्खेतमा इम्पेट्स टेक्नोलोजी नेपाल प्रदेश कार्यालय स्थापनाका लागि घर भाडमा लिएर ८ महिनासम्म भाडा तिरेका छैनन् भने कार्यालयका लागि ल्याएको फर्निचरको डेढ लाख रुपैयाँ भुक्तानी नदिएकाे पीडितले बताएका छन् । उनका चर्तिकला बुझेका सुर्खेत कार्यालयका कर्मचारीले दुइ महिनाको  तलव नपाएको बताए । सुर्खेतको कार्यालय बन्द गरेर गुरागाँइ सम्पर्कविहीन भएको पीडितले बताए । जीवनले चलाएको इम्पेट्स टेक्नोलोजी नेपाल प्रालीका कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् । कर्मचारीको श्रम शोषण गरेका जीवनलाई सम्पर्क गर्न खोज्दा उनले मोबाइल फोन उठाएनन् । (दैनिक नेपालबाट)