६ बैशाख २०८१, बिहीबार

छायानाथ राराको बजेट ५२ करोड


मुगु । छायानाथ रारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ । गत असार १० गते उद्घाटन भई ३१ गते समापन भएको छायाँनाथ रारा नगरपालिकाको पाँचौँ नगरसभाले सर्वसम्मत पारित गरेको नीति, कार्यक्रम तथा बजेट बुधबार जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिकाले सार्वजनिक गरेको हो ।
नीति तथा कार्यक्रम नगर प्रमुख हरिजंग शाही र बजेट उपप्रमुख सुन्तला रोकायाले बाचन गरेर सार्वजनिक गरका थिए । कार्यक्रममा बोल्दै नेकपा मुगु जिल्ला कमिटीका सदस्य सन्तोस मल्लले कार्यक्रम जनमुखी भएका र सफल कार्यान्वयनको लागि आफ्नो पाटीको साथ रहने बताए । नेपाली कांग्रेस मुगुका उपसभापति खगेन्द्र बहादुर मल्लले कार्यक्रम, बजेट बाँडफाड राम्रो भए पनि कार्यान्वयनमा आफूलाई शंका लागेको बताए ।
सार्वजनिक गरिएको नगरको यो अबको कुल ५२ करोड बजेटमा सबैभन्दा बढी शिक्षामा र सबैभन्दा कम कृषिमा विनियोजन गरिएको छ । वडा स्तरबाट छनोट गरिएर आएका योजना, नगरका गौरवका योजना, नियमित र विगत वर्षमा नगरले अवलम्बन गदै आएका कार्यक्रममा विनियोजन गरिएको छ । नगरपालिकाले नगर क्षेत्रमा विद्युत अनियमिताको समस्यालाई समाधान गर्न नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा यो आर्थिक वर्षबाट १ मेगावाड क्षमताको विधुत् उत्पादन गर्न २ करोड रकम छुटाएको छ भने मुगु जिल्लामा रहेको नेपालकै ठूलो र गहिरो ताल रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला सदरमुकाम गमगढीमा बसाउन र धार्मिकस्थल छायानाथको दर्शन गराउन गमगढी–बालै–राताचौर सडकलाई बहु वर्षीय योजनामा लागि सडक बनाउन ५० लाख रकम विनियोजन गरिएको छ ।
मेयर स्वरोजगार कार्यक्रम, गरिबसँग मेयर कार्यक्रम, मेयरकप प्रतियोगिता, कवर्ड हल निर्माण, छायाँनाथ सभाहल निमार्ण, गमगढीमा मेयर पार्क निमार्ण, डम्पिङ साइड निमाण, पत्रकार महासंघ भवन निमार्णा, सडक बत्ती, गमगढी बिपी मार्ग हुँदै मूल सडकसम्म सडक निर्माणलाई नगरपालिकाले गौरवका योजना भनी रकम विनियोजित गरेको छ । नगरसभाले अनुमोदन गरेर कार्यविधि बनाई चालु अवस्थामा रहेका कार्यक्रम एक छोरी एक खाता, एकल पुरुष प्रोत्साहनभत्ता, दुई सन्तान स्थायी बन्ध्याकरण गर्ने दम्पती प्रोत्साहन भत्तालगायतका कार्यक्रम रहेका छन् ।