८ बैशाख २०८१, शनिबार

महायज्ञको आयव्यय सार्वजनिक



सुर्खेत, १२ पुस ।

गत कात्तिकमा चौकुनेमा आयोजना गरिएको महायज्ञको आय व्यय विवरण सार्वजनिक गरिएको छ । महांयज्ञ मूल आयोजक समितिले गुटुमा सार्वजनिक सुनुवाइ गरी आयव्य सार्वजनिक गरेको हो । चौकुनेमा कृषि क्याम्पस स्थापना गर्न महायज्ञ आयोजना गरिएको थियो ।
गत कात्तिक २२ देखि २९ सम्म सञ्चालन भएको महायज्ञमा १ करोड ५५ लाख ९० हजार ९ सय ४४ दान संकलन भएको समितिले जनाएको छ । महायज्ञमा २१ लाख ४६ हजार एक सय ९७ रुपैयाँ खर्च भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष कमल जिसीले जानकारी दिए । महायज्ञमा २९ लाख ३७ हजार ६ सय ८४ नगद संकलन भएको र ९१ लाख ९९ हजार ७ सय रुपैयाँ संकलन भएको उनले बताए । ३४ लाख ५४ हजार २ सय ३५ रुपैयाँ उठ्न बाँकी रहेको विवरण सार्वजनिक गरे ।
चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले चौकुनेमा कृषि क्याम्पस र वनविज्ञान क्याम्पस स्थापना गरिने बताए । ‘चौकुनेमा हामी दुईवटा क्याम्पस स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं, त्यसका लागि गाउँपालिकाले पनि विशेष पहल गरेको छ ।’ उनले भने, कृषि क्याम्पसका लागि गुटुमा महायज्ञ र गाउँपालिका बाट उठेको रकम जग्गा खरीद र अन्य संरचनामा लगानी गरिनेछ र वनविज्ञानका लागि गाउँपालिकाको गाउँसभाबाटै निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढेको छ । गाउँपलिकाले दुई वटै क्याम्पसलाई प्राथमिकताका साथ अगाडि बढाउने र त्यसमा विभिन्न भ्रममा नपर्न समेत उनले अनुरोध गरेका थिए ।
कृषि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहन बडुवालले २ हजार ८७ जना दानदातहरुलाई महान कार्यका लागि धन्यवाद दिंदैे क्याम्पसको जग्गा र अन्य संरचनाका लागि तत्काल पक्रियागत ढंगबाट काम भइरहेको बताए । कृषि विज्ञान क्याम्पसका लागि स्थानीय, प्रदेश तथा संघ सरकारसंग समन्वय गरी अगामी सैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी तयारी भएको उनले बताए ।