नेपाल फर्किन लागेका नेपाली र प्रहरीबीच गौरिफन्टा नाकामा झडप


कैलाली । कैलालीको गौरिफन्टा नाकामा भारतबाट नेपाल प्रवेश गर्न लागेका नेपाली र सुरक्षाकर्मीबीच झडप भएको छ । सरकारले गएराति अबेरसम्म सीमा नाकामा आइपुगेका नेपालीलाई नेपाल प्रवेश गर्न दिएपनि सीमान क्षेत्रमा नेपाल प्रवेश गर्नेको भीड लागेको थियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले नेपाल भारत सीमा बन्द गरेपछि सुरक्षाकर्मीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको हो । भीड नियन्त्रण गर्ने क्रममा सीमापारीबाट आउँदै गरेका नेपालीले ढुुंगामुडा गरेका थिए । नेपाल प्रवेश गर्नेको ठूलो भीड रहेका कारण सुरक्षाकर्मीलाई उनीहरुलाई रोक्न कठिन परेको हो ।
गौरिफन्टा नाकामा अलपत्र परेका सयौं नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन् । उनीहरु दशगजा क्षेत्रमा आइसकेका छन् । मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ । कतिपय नेपाली भने भागेर नेपाल प्रवेश गरिसकेका छन् । गौरिफन्टा नाकामा सयौं नेपाली अलपत्र परेका छन् । सरकारले सोमबार साँझसम्म उनीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थियो । तर, रातभरी पनि नेपालीहरु सो क्षेत्रमा आइपुग्ने क्रम जारी रह्यो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरु सीमा क्षेत्रमै बसेको बताए। उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन नसकेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

मध्यराती धनगढी उप–महानगरपालिका वडा नम्वर १ का अध्यक्ष सन्तोष मुडभरी र वडा नम्वर ३ का अध्यक्ष बलवहादुर ऐर सीमा नाकामा पुगेका थिए। उनीहरुले अलपत्र नेपालीलाई खानेकुराको व्यवस्था गरेका थिए। मंगलबार बिहानदेखि नेपाल लकडाउन भइसकेका कारण उनीहरु नेपाल प्रवेश गर्न नपाएका हुन् ।