७ बैशाख २०८१, शुक्रबार

कर्णालीमा परीक्षण गरिएका आठ सय ६७ को स्वाब नेगेटिभ


सुर्खेत । कर्णाली प्रदेश सरकारले हालसम्म कोरोना भाइरस (कोभिड– १९) को आठ सय ६७ जनाको ‘थ्रोट स्वाब’ परीक्षण गरेको छ । २० चैतबाट सञ्चालनमा आएको पिसिआर विधिबाट एक सय ३८ जनाको र २८ चैतबाट सञ्चालनमा आएको आरडिटी विधिबाट सात सय २९ जनाको ‘थ्रोट स्वाब’ परीक्षण गरेको हो ।

‘थ्रोट स्वाब’ परीक्षण गरिएका सबैको रिपाेर्ट नेगेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारका अनुसार कर्णालीका सबै जिल्लामा दुई सय ९२ क्वारेन्टाइन रहेको र ती क्वारेन्टाइनमा चार सय ८३ जना बसिरहेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेर आठ सय ४५ जना घरमा नै फिर्ता भएको सामाजिक विकास मन्त्रालयका कायममुकायम सचिव धर्मजित शाहीले बताए । ‘कर्णाली प्रदेशका सबै जिल्लामा चार सय ६६ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको छ,’ उनले भने, ‘अहिले तीनजनालाई आइसोलेसन बेडमा भर्ना गरिएको छ ।’

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा आइसियू बेड १७ वटा र ११ भेन्टिलेटर रहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई दुई करोड, जिल्ला अस्पताल कालिकोटलाई एक करोड र रुकुमको चौरजहारी अस्पताललाई एक करोड रुपैयाँ क्षमता अभिवृद्धिका लागि रकम विनियोजन गरिएको जनाएको छ ।

अलपत्र परेकालाई उद्धार गरेर क्वारेन्टाइनमा राखियाे
मंगलबार राति सुर्खेतको बबईमा अलपत्र परेका ३५ जनाको उद्धार गरेर नेपाली सेनाको व्यवस्थापनमा निर्माण गरिएको वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा राखिएको छ । नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि गएकाहरूलाई मध्यराति क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा राखिएकाहरूमध्ये ३३ पुरुष, एक–एकजना महिला र बच्चा छन् । यीमध्ये दैलेखका १०, जाजरकोटका आठ, सुर्खेतका ६, सल्यानका पाँच, जुम्लाका तीन, अछामका दुई र रुकुमपश्चिमका एकजना छन् ।