४ बैशाख २०८१, मंगलवार

लकडाउन ५ जेठसम्म थप्ने मन्त्रिपरिषद निर्णय


काठमाडौं । जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय काठमाडौं सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म र्पुयाएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय गरिसकेको छ । सरकारले पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिदै छ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै मंगलबार बसेको कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सुझाव दिएको थियो ।

मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको २३ औं बैठकमा कृषि र उद्योग क्षेत्रका कामलाई मापदण्ड अनुसार निरन्तरता दिँदै कोरोना नियन्त्रणमा अहिले भएका सबै प्रयासलाई यथावत राख्दै संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको थियो ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुरर्याएको थियो। पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।

लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहनेछन् । सरकारले घरबाहिर निस्किनेलाई थप कडाइ गरिने जनाएको छ । कोरोना संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कडाइपूर्वक कारबाही गर्ने निर्णय यस अघि नै गरिसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।