तीला गाउँपालिकाले ल्यायो गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम

जुम्ला । तिला गाउँपालिकाले गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले शतप्रतिशत गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्‍याउनका लागि सुनौलो हजारदिन भित्रका गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्र्तगत निरन्तर रुपमा स्वास्थ्य संस्थामा चेकजाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

सुनौलो हजार दिनभित्रका महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने महिलालाई पोषिलो खाने कुरा उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन् । ‘गाउँपालिकाको स्वास्थ्यचौकी घोडे, स्वास्थ्यचौकी राँसा, जुम्लाकोट स्वास्थ्यचौकी र कुडारी स्वास्थ्यचौकीमा पुगेर गर्भवतीलाई कोसेली स्वरुप पोषिलो खानेकुरा उपलब्ध गराइएको छ,’ उनले भनिन्,‘घोडे स्वास्थ्यचौकीबाट शुरु भएको यो कार्यक्रम स्वास्थ्यचौकी रारालिहीमा पुगेर सकिनेछ ।’

कार्यक्रम अन्र्तगत एक जना गर्भवतीलाई १ क्यारेट अण्डा, ५ किलो चामल र १ लिटर धारा तेल, बच्चालाई न्यानो कपडा र ब्लांकेट उपलब्ध गराइएको छ । यस्तै कुडारी स्वास्थ्य चौकीमा १५ जना गर्भवती महिलाले पोषिलो खानेकुरा पाएका छन् । लकडाउनको समयमा गर्भवती महिलाले पोषिलो खानेकुरा नपाउने भएकोले यो समयलाइ मध्यनजर गर्दै गर्भवतीलाई कोसेली स्वरुप पोषिलो खानेकुरा उपलब्ध गराइएको हो ।

नियमित स्वास्थ्य संस्थामा गर्भजाँच गर्ने, स्वास्थ्यकर्मीको सुझाव पालना गर्ने, आफ्नो बच्चा र आफ्नो ज्यानको ख्याल राख्ने गर्भवती महिलालाई पहिलो चरणमा पोषिलो खानेकुरा प्रदान गरिएको हो । तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी हितानका अनुसार गाउँपालिका भित्रका ६० जना गर्भवतीलाई पोषिलो कोसेली प्रदान गरिएको छ । यो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतिलाई स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

लकडाउनको समयमा सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै गर्भवतीलाई भेटघाट गर्ने कार्य चलिरहेको छ । सो अवसरमा सुनौला हजार दिनको महत्वबारे शिक्षा दिँदै आमा र शिशुको स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिदै आएको छ । गर्भ रहेदेखि नौ महिनासम्म निरन्तर चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र बालबालिकालाई लगाउनु पर्ने सबै प्रकारको खोप लगाउन आग्रह समेत गरिएको छ ।

गर्भवती महिलालाई घरमा उपलब्ध स्थानीय अन्न गेडागुडी, सागपात र पोषिलो खानेकुरा मिलाएर खान सुझाव दिइएको थियो । गर्भवती अवस्थामा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा समेत सहजीकरण गरिएको उपाध्यक्ष बुढा बताउँछिन् । साबुन पानीले नियमित हात धुन, सेनिटाइजरको प्रयोग गर्न र घरबाहिर निस्कदा मास्क अनिवार्य रुपमा प्रयोग गर्न भनिएको छ । व्यक्तिबीच दुरी कायम राख्ने, आफ्नो आँखा, नाक र मुख हातले नछुने भन्दै उपाध्यक्ष बुढाले गर्भवतीले आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड दिइन् ।

error: Content is protected !!