७ बैशाख २०८१, शुक्रबार

रास्कोट नगरपालिकामा राहत भन्दै कुहिएको चामल वितरण


कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले तेस्रो चरणको राहत वितरणमा नागरिकलाई कुहिएको चामल वितरण गरेको पाइएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण फैलिन नदिनका लागि नेपाललाई लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरेर खाने नागरिकहरुलाई रास्कोट नगरपालिकाले राहत वितरण गर्दै आइरहेको छ । पहिलो र दोस्रो चरणको राहत वितरण गरिसकेको रास्कोट नगरपालिकाले तेस्रो चरणको राहतमा भने कुहिएको चामल वितरण गरेको भन्दै नागरिकले गुनासो गरेका छन् ।
रास्कोट नगरपालिका–९ मा वितरण गरिएको राहतमा कुहिएको चामल वितरण गरिएको छ । रास्कोट नगरपालिकाका स्थानीय महेश बरालले आफ्नो फेसबुकमा कुहिएको चामल सहितको फोटो पोष्ट गर्नुभएको छ । संकटको बेला रास्कोट नगरपालिकाले आफ्ना नागरिकलाई कुहिएको चामल वितरण गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । स्थानीय सरकारले नागरिकलाई राहत स्वरुप बाडेको चामल कुहिएको भेटिएकाले स्थानीय सरकारले कोरोना भन्दा सडेगलेको चामल दिएर ज्यान लिन खोजेको नागरिकको आरोप छ ।


कुहिएको चामल वितरण गरेको तस्बिर सामजिक संजालमा आएपछि नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको सहसचिव एवं क्षेत्र नं २ का क्षेत्रीय सभापति दमनबहादुर शाहीले कहिएको चामल विक्रि गर्ने र राहत भन्दै वितरण गर्नेलाई कानुनी कार्वाही गर्नुपर्ने बताएका छन् । उनले कुहिएको चामल राहत बाड्ने कुरामा काँग्रेसले गम्भिर रुपमा लिएको बताए । यता नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले १२ सय बोरा चामलमा ३ बोरा कुहिएको चामल आएको बताए । उनले भने, ‘यो नियतबस बाडिएको होइन, अनावश्यक नागरिकलाई भ्रम छर्ने काम कसैले गर्नुहुर्दैन हामी कुहिएको चामल फिर्ता गरि नकुहिएको चामल दिन निर्देशन दिइसकेको छु । यस विषयमा हामीले सम्बन्धित वडाध्यक्ष डबल बोगटीलाई फोन गर्दा उनको फोन उठेन ।