अघोषित् लोडसेडिङले हैरानी


सुर्खेत ।
आइतबार मध्यान्नमा प्रदेश अस्पतालको डाईलासिस कक्षमा दुई पुरुष डाईलासिस सेवा लिईरहेका भेटिए । डाईलासिसको दुई मेशिन चालु थिए । हुनत अस्पतालसँग पहिले कुल चार मेशिन हुन् । डाईलासिस कक्षकी प्रमुख नर्स बिन्दु कँडेलले भनिन्, ‘हामीसँग पहिले चार वटा डाएलासिस मेशिनहरु थिए । दुईवटा मेशिनमा समस्या आयो । अहिले दुई मेशिनमात्र सञ्चालनमा रहेका छन् ।’
अस्पताल प्रशासनले अहिले थप दुईवटा डाईलासिसका मेशिनहरु पनि ल्याएको छ । नर्स कँडेलले भनिन्, ‘अव प्राविधिकहरुले मेशिन जडान गरेपछि चारैवटा मेशिनबाटै डाईलासिस सेवा सुरु हुन्छ ।’ नर्स कँडेलसँग अस्पतालमा डाईलासिस सेवाका वारेमा बुझ्न नपाउँदै बक्ति गयो । कँडेलले अस्पतालका अर्का कर्मचारीलाई जेनेरेटर चलाउन फोन गरिन् । सँगै भएकी अर्की नर्स कृष्णा खनाल (समदर्शी)ले भने डाईलासिस मेशिनको ‘ब्लड पम्प’ घुमाउन थालिन् ।
डाइलासिस भईरहेको समयमा मेशिनमा विद्युत आपुर्ती नहुँदा रगत जम्ने खतरा हुन्छ । जसले डायलासिस गरिरहेका विरामीको स्वास्थ्यमा सोझै असर पार्छ । छिनछिनमा रोकिने विद्युत आपुर्तीका कारण विरामीको स्वास्थ्यलाई ख्याल गर्दै नर्सहरुलाई डाईलासिस मेशिनको ब्लड पम्प घण्टा÷घण्टामा घुमाउनुपर्ने वाध्यता छ । अस्पतालको जेनेरेटरबाट विद्युत आपुर्ती हुन लगभग पाँच मिनेट भन्दा अलि बढी समय लाग्यो ।
आईतबार अस्पतालमा डाइलासिस गराईरहेका दैलेख आठविस नगरपालिका–१ का विरामी गणेश सुनारले भने, ‘बक्ति गएपछि रगत जम्न सक्छ रे ! उहाँहरु बक्ति जानासाथ मेशिन घुमाउनुहुन्छ । पटक–पटक बक्ति जाँदा मनमा डर पनि लाग्छ । कतै शरिरको नशामै रगत जम्ने हो कि ?’ सुनारसँगै रहेको अर्को वेडमा डाईलासिस गराईरहेका वीरेन्द्रनगर–१० का कृष्णबहादुर गौतमले भने, ‘सुर्खेतमा विद्युत आपुर्तीको व्यवस्था सहज भईदिएको भए हुन्थ्यो ।’
सुरुमा विद्युत आपुर्ती रोकिदा मेसिन आफैपनि १०÷१५ मिनेट काम गर्न सक्थ्यो, नर्स कँडेलले भनिन्, ‘पहिले केहि समय मेशिन आफैले पनि काम गर्न सक्थ्यो । मेशिनसँग आफ्नै व्याकअप हुन्थ्यो । अहिले मेशिन पनि पुरानो भईसक्यो । बक्ति गएको छिनभरमै ब्लड पम्पलाई घुमाईहाल्नुपर्छ ।’ अस्पतालको आईसियु कक्षमा पनि नियमित विद्युत आपुर्ती नहुँदा समस्या सृजना भएको छ ।
छिनछिनमा बक्ति जाँदा भेन्टिलेटरमा रहेका विरामीको स्वास्थ्यमा प्रतिकुल असर पर्छ । आईसियु कक्षकी नर्स प्रतिमा पन्त (चपाई)ले भनिन्, ‘छिनछिनमा बक्ति जाँदा जेनेरेटर शुरु नहुँदासँम्म हामी एम्बु व्याग थिच्न थाल्छौ ।’ भेन्टिलेटर मेशिनमा विद्युत आपुर्ती रोकिए भेन्टिलेटरमा रहेका विरामीले स्वास फेर्न सक्दैनन् । विद्युत आपुर्ती रोकिएपछि विरामीका लागि कृतिम स्वासको आवश्यकता पर्छ ।
विद्युत आपुर्ती रोकिदा आईसियु कक्षमा खटेका नर्सहरुलाई विरामीलाई कृतिम स्वासका लागि छिनभरमै एम्बु व्याग थिच्नुपर्ने वाध्यता छ । वर्तमान समयमा सुर्खेतमा छिनछिनमा आउने÷जाने गर्ने विद्युतका कारण अस्पतालको स्वास्थ्य सेवा मात्र हैन कृषि, शिक्षा, व्यापारलगायत सबै क्षेत्रमा असर पारेको छ । नेपाल लोडसेडिङ्ग मुक्त भए पनि हरेक घण्टामा आठ÷दश पटक विद्युत आउनेजाने हुँदा सुर्खेत अहिले लोडसेडिंगको मार खेपिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले वितरण गर्दै आएको विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा परेका हुन् । यसैगरी नियमित विद्युत आपुर्ती नहुँदा वीरेन्द्रनगर–२ मा रहेको शुभकामना अर्गानिक कृषि हाउसमा अहिले अण्डाहरु बिग्रन थालेका छन् । चल्ला कोरल्नका लागि ह्याचिङ मेशिनमा राखिएका अण्डा वेलावेलामा बक्ति आउने जाने भएपछि बिग्रन सुरु हुन्छन् । कृषि फार्मका सञ्चालक राजबहादुर शाहले भने, ‘बत्ति आउने जाने भईरहनाले निकै सताएको छ ।’
लकडाउनका वखत कुखुरा÷हाँसलगायतका चल्लाले बजार नपाउँदा व्यवसायमा आर्थिक भार थपिएको उनको फार्ममा अहिले भने बत्तिले निकै समस्या सिर्जना गरेको छ । शाहले भने, ‘एकछिनमा आउँछ, अनि फेरी जान्छ । व्यवसायमा आर्थिक भार थपिएको छ ।’ बत्तिको विकल्पका रुपमा फार्ममा जेनेरेटरको समेत व्यवस्था गरिएको छ । तर जेनेरेटरले चल्ला उत्पादनको खर्चमा बृद्वि गर्छ । उनले भने, ‘बत्तिको ठेगान छैन । जेनेरेटर लगाईरहनुपर्छ । नत्र कोरल्न राखिएका अण्डा बिग्रने सम्भावना हुन्छ । आर्थिक भार थपिएको छ ।’
यता नेपाल विद्युत् प्राविधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले भने वीरेन्द्रनगरमा विद्युतका टूान्सफर्मरको क्षमताभन्दा बढीसंख्यामा विद्युत् लाइन विस्तार गरिएकाले पनि विद्युत् अनियमित हुने गरेको बताउछन् । यसका साथै मर्मतका समयमा पनि विद्युत आपुर्ती कटौती हुने उनले जनाए । हाल वीरेन्द्रनगरमा ९५ वटा टूान्सफर्मर छन् ।
यी सबैमा क्षमताभन्दा बढीमा लाइन वितरण गरिएको छ । थप टूान्सफर्मर जडान गर्न समुदायले अवरोध गर्ने हुँदा समस्या भएको विद्युत् प्राविधकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ । हाल सुर्खेतमा नेपाल विद्युत् प्राधिकरणको कोहलपुर र दैलेखको नौमुलेबाट विद्युत् आपूर्ति हुँदै आएको छ । सुर्खेतमा मागअनुसार विद्युत् भए पनि क्षमताअनुसार ट्रान्सफर्मर नहुँदा समस्या भएको वितरण केन्द्रका प्रमुख गिरीले बताए ।

error: Content is protected !!