चक्रपथ निर्माणमा भएको ढिलाईले स्थानीयलाई सास्ती

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ राजीगाउँका लोकराज लामिछानेलाई वीरेन्द्रनगर बजार आउन पहिले २० मिनेट लाग्थ्यो । तर अहिले ४५ मिनेट लाग्छ । बजार आउँदा उनलाई आधा घण्टा हिँड्नुपर्छ त्यसपछि १५ मिनेट मोटरसाइकलमा समय लाग्छ । हिँड्नुपर्ने बाध्यता सडक नभएर हैन । निर्माणको क्रममा समयमा नै काम नभई झन् बिग्रेको सडकको कारण हो ।

वीरेन्द्रनगरमा निर्माणाधिन रिङरोड (चक्रपथ)को काम सयममा नै नहुँदा उनीलगायत नगरवासी थुप्रैलाई सास्ती भोग्नुपरेको छ । ‘असार लागेसँगै मोटरसाइकल जान सक्ने अवस्था नभए पछि हिँड्नुपर्ने बाध्यता छ’, उनले भने, ‘वर्षायाम लाग्नुभन्दा पहिले जसोतसो मोटरसाइकल लिन्थ्यौँ । वर्षायाम लागेपछि झनै हिलाम्मे सडकमा जान सक्ने अवस्था छैन ।’ सहज सडकमा नहुँदा सवारीसाधनको आवत जावत बन्द भएसंगै बिरामी, दैनिक अत्यावश्यक सामाग्रीहरु लिनेहरु समस्यामा छन् ।

चक्रपथको काम सयमा नहुँदा वडा नम्बर २ का राजीगाउँ, ठौरीगाउँ र जयपुरलगायत वीरेन्द्रनगर नगर क्षेत्रका अन्य स्थानका नगरवासीले सास्ती खेप्नुपरेको छ । असार मसान्त अघि नै निर्माणका कम्पनीले काम सक्नुपर्ने भएपनि हाल सडक निर्माणको काम विचैमा छाडिएको स्थानीयको आरोप छ । हाललाई आवत जावत गर्न मिल्ने सडक मात्रै भए पनि बनाउनुपर्ने स्थानीयवासी बताउँछन् । हिँड्नको लागि मात्रै भए पनि बाटो बनाउन आग्रह गरे पनि ठेकेदार कम्पनीले वेवास्ता गरेको उनिहरु बताउँछन् ।

उक्त रिङरोड (चक्रपथ) कर्णाली प्रदेश सरकारको मातहतमा निर्माण भईरहेको छ । खड्का कृष्ण द क्याराभान जेइन्ड भेन्टर (जेभी) बाँकेले निर्माण गरिरहेको उक्त सडकको २५ प्रतिशत काम मात्रै सम्पन्न गरेको छ । सडक डिभिजन कार्यालय रुकुम पश्चिमका कार्यालयका प्रमुख नरेन्द्र भट्टले भने, ‘हालसम्म २५ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।’

२०७४ साल चैत्र २३ गते उक्त कम्पनीसंग १३ करोड ५३ लाख ५१ हजार ७ सय ७० रुपैयाँमा सम्झौता थियो । सम्झौता अनुसार २०७६ चैत्र २३ गते सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ । तर जग्गा–विवाद र कोरोना भाइरसको महामारीका कारण समयमा नै काम नहुँदा २०७७ पौष १५ गतेसम्मको लागि म्याद थप भएको सडक डिभिजन कार्यालय रुकुम पश्चिमका इन्जिनियर सुरेशकुमार बस्यालले जानकारी दिए । हाल उक्त रकमको २१ प्रतिशत भुक्तानी भईसकेको छ ।

चक्रपथको निर्माणमा हालसम्म वीरेन्द्रनगरको १० र ११ को काम सकिएको छ भने वडा नम्बर दुई र नौ मा काम भइरहेको छ । ‘योजना प्रदेश मातहतमा आउन्जेलसम्म काम सुन्य जस्तै थियो’, इन्जिनियर बस्यालले भने, ‘प्रदेश मातहतमा आए पनि निर्माणको काम तीव्र गतिमा अघि बढेको हो । स्थानीयले समयमा नै जग्गा नदिँदा ढिला भएको थियो । काम हुने समयमा कोरोना महामारीका कारण लकडाउन भयो । सम्झौता अनुसारको काम हुन सकेन ।’

सडक विभागको मापदण्ड अनुसार १५ मिटर चौडाईमा ग्रावेल गर्ने भए पनि हाल सबै ठाउँमा स्थानीयले जग्गा नदिएको उनको भनाई छ । ‘दुई नम्बर वडामा सबै भन्दा धेरै विवाद छ’, उनले भने, ‘त्यहाँ अहिले पनि विवाद जारी छ । केही ठाउँको समाधान भएको छ । केही ठाउँमा ७–८ मिटर जग्गा मात्रै उपलब्ध भएको छ ।’ मापदण्ड अनुसारको जग्गा उपलब्ध नभए पछि उपलब्ध भएको जग्गामा पनि काम गरेर सकिने उनले बताए ।

जग्गाको विवाद समाधान भए पछि काम सुरु हुँदा कोरोना भाइरसको महामारीमा लकडाउन भएको र लकडाउनमा प्रशासनमार्फत समयमा उपयुक्त पास नपाउँदा पनि समयमा काम सम्पन्न हुन नसकेको उनको भनाई छ । हाललाई सामान्य यात्रा गर्नेबाटो मात्रै भए पनि बनाइदिन स्थानीयले गरेको मागलाई गम्भिरताका साथ लिएर निर्माण कम्पनीसंग समन्वय गरेको र सहज मौसम भएमा त्यो पनि गर्ने उनको भनाई छ ।

error: Content is protected !!