७ बैशाख २०८१, शुक्रबार

भैसी खरिदबारे छानविन


दैलेख । नारायण नगरपालिकामा, पशु सेवा कार्यालय दैलेख र जिल्ला कृषि विकास कार्यालयको साँझेदारमा गत आर्थिक वर्षको असारमा किसानहरुलाई भैसी बाँडिएपछि अनियमितता भएको भन्दै उजुरी परेको छ ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले छानविन सुरु गरिको हो । भैसीं खरिद प्रकृया र किसान छान्ने क्रममा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्धा परेको जनाईएको छ ।

असारसमान्तमा दुध चिस्यान केन्द्र स्थापना र भैसी खदिरमा २ करोड ४ लाख रकम खर्चिएको थियो । उक्त कार्यक्रम पाउने सहकारीले पनि साँझेदारमा खर्च गरेको छ ।

जसमा पशु सेवा कार्यालय, तथा पशु अस्पताल दैलेखले १ करोड, नारायण नगरपालिकाले ४० लाख, कृषि विकास विकास कार्यालयमार्फत अति विपन्न वर्गको (लक्षित वर्ग विशेष) बाट ४० लाख र कार्यक्रम पाएको राष्ट्रसेवक बहुउद्देश्य सहकारी संस्था लिमिटेडले २४ लाख रुपैँया खर्चिएको थियो ।

जसमा दुध चिस्यान केन्द्र स्थापना तथा सामान खरिद, भैसी खरिद, ढुवानी, भैसी विमा, भकारो सुधार, लगायतका शिर्षकमा उक्त रकम खर्चिएको सहकारी संस्थाले जनाएको छ । सहकारी मार्फत नारायण नगरपालिकाका ३, ४, ५, ६, ७ र ११ नम्वर वडाका १ सय २१ जना किसानलाई ढुवानी भाडाँ बाहेक प्रति भैसी १ लाख १० हजारमा रुपैँयामा भैसी दैलेख सदरमुकामसम्म ल्याएको थियो ।

सचिवस्तरिय निर्णयले भैसी कर्णाली प्रदेशबाट किन्नुपर्ने नियम रहेको छ । जिल्ला तथा प्रदेशभित्रबाट खरिद गरेर ढुवानी तथा कस्तो मुल्य हालेर विल बढी बनाएको आरोप समेत लगाईएको छ ।

पशु सेवा अस्पतालबाट चिस्यान केन्द्र स्थापना तथा दुध ब्यवसाय भनेर कार्ययोजना सहित ५ वटा सहकारीले प्रस्तावना हालेका थिए । जसमा १ वटा सहकारीले काम गर्ने स्विकृती पाएको थियो ।

लगत अध्यायन गरेर चिस्यान केन्द्र र भैसींमा लगानी भएको गरिएको पशु सेवा कार्यालयका निमित्त प्रमुख भिमबहादुर विष्टले बताए । सहकारीका अनुसार नगरपालिकाले प्रतिवद्धता गरेको रकम रकमान्तर गरेर दिनुपर्ने भएकाले आएको छैन् । नारायण नगरपालिकाले भाद्रसम्म पैसा दिने प्रतिवद्धता गरेको जनाईएको छ ।

वडा अध्यक्षको अध्यक्षतामा बसेको बैठकले किसान छानेको र नारायण नगरपालिकालाई दुध र दहिमा आत्मनिर्भर बनाउने उद्देश्य बोकेकोले रिसका भरमा उजुरी गरिएको पशु सेवा कार्यालय तथा पशु अस्पतालका निमित्त कार्यालय प्रमुख भिमबहादुर विष्टले बताए ।

दुध चिस्यान केन्द्र स्थापनामा २५ लाखको सामान, चिस्यान केन्द्रको घर निर्माण ८ लाख, भैसी ढुवानी, विमा, भकारो सुधार लगायतका शिर्षकमा रकम खर्च गरिएको जनाईएको छ ।

दैलेख दहिका लागि प्रख्यात भएपनि दहि, दुध अभाव हुन थालेपछि यस्तो कार्यक्रम ल्याईएको सहकारीका अध्यक्ष खमबहादुर थापाले बताए । नगरपालिकामा दुध र दहि जति बेला पनि उलपब्ध गराउने उद्देश्यका साथ कार्यक्रम पारदर्शिताका साथ गरेपनि कार्यक्रम पाउँदा प्रतिस्पर्धी सहकारीले मुद्दामामिला गरेर बदनाम गर्न खोजेको अध्यक्ष थापाले बताए ।

भैसीं खरिदमा मुल्य बढी, दोहोरो परेको लगायतका विषयमाथि छानविनका लागि उजुरी परेकाले छानविन भईरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।