देवीको मन्दिरमा चढ्यो, दलितको भेटी

कालीकोटः परापूर्वकालदेखि देवीदेवताको मन्दिरको नजिक नजाने दलित समुदायले पहिलो पटक कालीकोट जिल्लामा देवीको मन्दिरमा फूल चामल र भेटी चढाएका छन् ।
दलित समुदायहरु देविको मन्दिर नजिक गएमा देवि देवता रिसाएर बिचबाटोमै मर्ने, नराम्रो हुने, परीवारमा अछल हुने पुरानो परम्परागत धार्मिक अन्धविश्वासलाई कालीकोटका दलित अधिकारकर्मीहरुले चिरेका छन् । उनीहरुले इतिहासमै पहिलो पटक जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र चुलिमालिका माईको दर्शन गरि घर फर्केका छन् ।
कालीकोटका दलित अधिकारकर्मीहरुले चुलिमालिका पुगेर फुलचामल र भेटी चढाएर माइको दर्शन गरेका हुन् । साउन १७ गते देखि १८ गते सम्म हुने पुजामा खाँडाचक्र नगरपालिका–४ का वडाध्यक्ष धनसिंह विकको नेतृत्वमा जिल्लाका दलित अधिकारकर्मीको टोलिले मन्दिरमा फुलचामल चढाएर पुजाआज गरि फर्केका हुन् । ‘अहिले सम्म देवीदेवताको मन्दिरमा पुजा गर्न पाएका थिएनौँ, आफ्नो देविदेवतासंग भाकल गर्न पाएका थिएनौँ, अव दलितहरुले पनि खुल्ला रुपमा मन्दिरमा सवैसंग पूजा गर्न पाउने भएका छन् । खाडाचक्र नगरपालिका–४ का वडाध्यक्ष धनसिंह विकले भने, ‘चुलिमालिका मात्र होईन, सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको चर्चित धार्मिक पर्यटकीय स्थल बडिमालिका माईको मन्दिरमा पनि आगामी वर्ष पुजा गर्न जाने छु ।’ उनले भने, ‘बडिमालिकामा अहिले सम्म दलितले पुजा गर्न पाएको छैन अव हामी एक अभियानका साथ माईको पुजा गर्न विभिन्न धार्मिक स्थलमा जानेर्छौ ।’
मान्छे एउटै, काटेमा रगत एउटै तर जातजातिले गर्दा सधियौँदेखि दलितको अधिकार खोसिदै आइरहेको थियो । पहिलो पटक आफुले मन्दिरमा चढाउन लिएको फुलचामल मन्दिरमा चढ्यो, मन्दिरमा पुजा गर्न गएका दलित अगुवा बसन्त सुनारले बताए । उनले भने, ‘मन्दिरका पुजारीले पनि दलितको फुल चामल सहजै रुपमा चढाए । अहिले सम्म दलित समुदाय माईको मन्दिरमा पुगेका थिएनन, यो पहिलो पटक हो । दलित समुदायको फुलचामल मन्दिरमा चढेको ।’


धार्मिक अन्धविश्वास सामाजिक परम्पराले पनि हामीहरु मन्दिरमा गएनौँ, उनले भने, ‘सामाजिक रुपमा मानिसहरुले नै गरेको विभेदकारी संस्कारको अन्त्य भएको छ ।’ मन्दिरमा लगाउने लिंगो, राँगो बलि चढ्ने, तर दलितको फुलचामल मन्दिरमा नचढ्ने यस्तो परम्परा तोडेको दलित अधिकारकर्मी रमेश कुमार सुनारले बताए । अहिलेको बदलिदो युगमा पनि दलितहरुले मन्दिरमा जान नपाइने धार्मिक पराम्परालाई आफुहरुले चिरेको दलित अधिकारकर्मीहरुको भनाई छ । चुलिमालिका मात्र होइन, जिल्लाका अधिकांश मठमन्दिरमा दलितलाई दर्शन गर्न नमिल्ने धार्मिक अन्धविश्वास रहीरहेको छ । अव देखि दलित समुदायहरुले कुनैपनि मठमन्दिरमा पुजा पाठ गर्न पाउने भएका छन् । सुनारले भने ।
चुलिमालिका मन्दिरका पुजारी भिमप्रसाद चौलागाईका अनुसार, परम्परागत धार्मिक अन्धविश्वासले अहिलेसम्म दलित समुदायको फुल चामल मन्दिरमा चढेको थिएन । पहिलो पटक दलितको फुल चामल र भेटी मन्दिरमा चढेको छ । तत्कालिन नेकपा माओवादी र सरकारविचको १० वर्षे जनयुद्धको वेला केही दलितहरु मन्दिरमा आए, त्यसपछि दलितहरु मन्दिरमा आफैपनि आउदैन्थे, अहिले जनप्रतिनिधिको नेतृत्वमा दलितअधिकारकर्मिले मन्दिरको दर्शन गरेका छन् । यो राम्रो पक्ष हो । हामिले पनि उनीहरुले चढाउन ल्याएको फुलचामल र भेटी सहजै मन्दिरमा चढाइ दिएका छौँ । यो सन्देश समुदायमा पनि जान जरुरी देखिएको पुजारी चौलगाईले बताए ।

error: Content is protected !!