७ बैशाख २०८१, शुक्रबार

धान गोड्ने समयमा मल अभाव


सुर्खेत । कर्णालीमा मलको चरम अभाव देखिएको छ । असारमा रोपेको धान गोड्ने समय भए पनि बजारमा रासायनिक मल (युरीया)को अभाव देखिएको हो । प्रदेशका सबै क्षेत्रका किसानले रासायनिक मल सहजै पाउन सकेका छैनन् ।

युरीया मल बिनानै धान गोड्नु परेको किसानहरुले गुनासो गरिरहेका छन् । युरीया मल बिना धान गोड्दा धान उत्पादन कम हुने चिन्ता लागेको वीरेन्द्रनगर नगरपालिका–४ का किसान रमेश चौधरीले बताए । असारमा धान रोप्दा देखि नै हाल सम्म मल नपाएको उनको भनाई छ ।
‘गत साल आज सम्म दुई तिन पटक युरीया मल हालि सक्थ्यौँ । तर यो बर्ष मल नै पाइएको छैन, मल नहाल्दा उब्जनी कम हुने हो की भन्ने चिन्ता बढेको छ । उनले भने, ‘यो समय किसानलाई अत्याधिक मात्रामा मल चाहिने समय हो तर बजारमा कतै मल छैन ।’

बारीमा युरीया मल हाल्न नपाएका कारण यस बर्ष उत्पादन समेत कम हुने वीरेन्द्रनगर–१० का अर्का किसान रत्न चौधरीले बताए । १० जनाको परिवार रहेको उनको परिवारलाई यस बर्ष खाद्यान्न नपुग्ने हो की भन्ने चिन्ता समेत बढेको छ ।

यी वीरेन्द्रनगरका केहि उदाहरण मात्रै हुन मल अभाव कर्णालीका सबै जिल्लाहरुमा छ । मल नपाएका कारण वीरेन्द्रनगरका किसान मात्रै नभएर अन्य जिल्लाका किसाहरु समेत चिन्तित बनेका छन् ।

लामो समय सम्म नेपालमा मल आयात नहुँदा स्थानीयस्तरमा मल बिक्रीका लागि अनुमति पाएका सहकारी सङ्घ–संस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेनिङ्ग कर्पोरेसन लिमिटेडले कर्णालीमा मल आपूर्ति गर्दै आएका छन् । सरकारी तथ्याङ्क अनुसार कर्णालीमा तीन हजार मेट्रिक्टन बढि रासायनिक मल (युरीया) खपत हुने गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यलयका प्रमुख टोपाराम केसीले चैत्र यता नेपालमा युरीया मल नभित्रिएकाले अभाव देखिएको बताए । ‘बजारमा युरीया मलको माग एकदमै धेरै छ तर हामीसँग मल छैन, उनले भने, ‘यो राष्ट्रिय समस्या हो । भएको मल सबै सकिसकेको छ । हाल देशका सबै जसो ठाउँमा यसको अभाव छ । मल उत्पादन हुने ठाउँबाट नै यसको आयात हुन सकेको छैन ।’

कर्णालीमा मल अभावको समस्या समाधानको लागि आफुहरुले तथा प्रदेश सरकारले जति पहल गरेपनि केन्द्र सरकारको पहलमा मल आयात नभए सम्म यस्तै समस्या रहने उनि बताउछन् । अहिलेको अवस्थालाई हेर्दा भदौ १५ भन्दा यता मल आउन सम्भावना कम रहेको उनले जानकारी दिए । नेपालमा चिन, रसीया, साउदी अरब, काजकस्थान, बंगलादेश जस्ता देशहरुबाट भारतको कोलकोत्ता हुँदै मल आउने गरेको छ ।