८ बैशाख २०८१, शनिबार

कालिकोटमा पहिलो पटक कराँते मार्शल आर्ट प्रशिक्षण


 

कालिकोटः जिल्ला सदरमुकाम मान्ममा कराँते मार्शल आर्ट खेल सुरु गरिएको छ । जिल्ला खेदकुद विकास समिति कालिकोटको समन्वयमा किशोर किशोरीहरुको आत्मरक्षाका लागि कराँते मार्शल आर्ट खेल सुरु गरिएको हो ।
विगत लामो समयदेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कराँते मार्शल आर्ट प्रशिक्षण दिदै आएका सेन्साई प्रेमसिंह तिरुवाले कालिकोटमा आएर किशोर किशोरीहरुलाई कराँते मार्शल आर्टको प्रशिक्षण दिन थालेका छन् । जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरी आफ्नो गृह जिल्लाका किशोर किशोरीहरुका लागि आत्मरक्षा गर्न सहयोग पुग्ने उद्देश्यले कराँते मार्शल आर्टको प्रशिक्षण दिन थालेको सेन्साई तिरुवाले बताए ।
उनले भने, ‘कालिकोटबाट कराँते मार्शल आर्ट खेलमा क्षेत्रीय स्तरसम्मका प्रतियोगितामा मात्र सहभागी भएको अवस्था छ । एक जना म मात्र अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएको छु । अन्य खेल क्षेत्रमा पनि जिल्लाको सहभागीता राष्ट्रिय स्तरसम्म सीमित छ । अब हामीले यी कालिकोटका किशोर किशोरीहरुलाई अन्तराष्ट्रिय स्तरका च्याम्पियनशिफमा सहभागी गराउने लक्ष्य छ ।’
कालिकोटसँगै कर्णालीका अधिकांश जिल्लाहरुमा बाल हिंसा, किशोरीहरुमाथि हुने यौन हिंसा जस्ता सामाजिक बिकृति र बिसंगतिहरु पनि उत्तिकै छन् । कराँते मार्शल आर्टका गूरु तिरुवाले भने, ‘यो प्रशिक्षणमा सहभागी भएका कुनै पनि किशोर किशोरीहरु यस्ता खालका हिंसामा पर्दैनन् । सहजै प्रतिकार गर्न सक्षम बन्छन् । जिल्ला सदरमुकामबाट सुरुवात गरिएको प्रशिक्षणलाई बिद्यालय स्तरमासमेत पुगेर किशोरी लक्षित निशुल्क कराँते मार्शल आर्टको प्रशिक्षण दिईने उनले जनाए ।
जिल्ला खेलकुद विकास कार्यालय प्रमूख नमराज मल्लले हरेक किशोर किशोरीहरुको शारीरीक, मानसिक स्वास्थ्य तथा आत्मरक्षाका लागि कराँते खेल अपरिहार्य रहेको बताए । उनले भने, ‘जिल्लामा पहिलो पटक कराँतेको प्रशिक्षण सुरु गरिएको हो । झण्डै ६० जना किशोर किशोरीहरुको सहभागीता भएको छ । कराँते प्रति बालबालिकाहरु आकर्षित भएका छन् । उनीहरुको सक्रियतासँगै थप व्यवस्थित रुपमा संचालन गर्नका लागि जिल्लाका सबै खेल क्षेत्रका सरोकारवालाहरुसँग समन्वय पनि गर्ने तयारी छ ।’
उनले आगामी दिनहरुमा हरेक स्थानिय तहमा कराँते मार्शल आर्ट प्रशिक्षणका लागि स्थानिय तहसँग समन्वय गरिने समेत बताए ।