८ बैशाख २०८१, शनिबार

कर्णालीका थप २५ जनामा कोरोना संक्रमण


सुर्खेत । कर्णालीमा थप २५ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला–सुर्खेतमा गरिएको परिक्षणमा १३ जना र दैलेख अस्पताल–दैलेखमा गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।

कोरोना संक्रमित हुनेहरुमा स्कारपियो चालक तथा भवन निर्माणमा संलग्न मजदुर समेत रहेका छन् । प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, जाजरकोट अस्पतालमा कार्यरत चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ । यसका साथै वीरेन्द्रनगरका स्कारपियो चालक र सरकारी भवन निर्माणमा कार्यरत दुई मजदुरमा समेत संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमण हुनेहरुको संख्या दुई हजार तीन सय ४४ पुगेको छ ।

थप ६ जना डिस्चार्ज
बिहिबार कर्णालीमा ६ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार २५ पुगेको छ । कर्णालीमा हालसम्म संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । कर्णालीमा हाल तीन सय १३ जना कोरोना संक्रमणका सक्रिय विरामी रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णालीमा ६ सय १४ जनामा कोरोना संक्रमण परिक्षण गरिएको थियो । जसमध्य प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला–सुर्खेत र दैलेख अस्पताल–दैलेखमा गरिएको परिक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।