८ बैशाख २०८१, शनिबार

एकै वडामा थप २० जनामा संक्रमण

कालीकोटमा कोरोना कहर

कालीकोटः कालीकोटमा थप कोरोनाका २० संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण फेला परेको हो ।
जिल्लाको तिलागुफा नगरपालिका–२ का स्थानीय २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । उनका अनुसार तिलागुफा नगरपालिका वडा नं २ का स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको हो । ६६ जनामा गरिएको परिक्षणमा २० जनामा कोरोना संक्रमण देखिएपछि कालीकोटमा कोरोनाको उच्च जोखिममा रहेको अनुगमान गर्न सकिन्छ ।
जिल्लाको तिलागुफा नगरपालिकाले यो समयमा हुने विभिन्न मेला, पैठ सार्वजनिक कार्यक्रममा रोक लगाउन नसकेपछि तिलागुफामा कोरोना संक्रमण फैलिने क्रम बढ्दै गएको छ । २० जनाको सम्पर्कमा रहेका अन्य नागरिकको पनि स्वाव परिक्षण गर्ने सूचना अधिकारी महतले बताए । उनले भने, ‘पछिल्लो समयमा कालीकोटमा कोरोनाको संक्रमण फैलिनुमा कसैको पनि सहयोग भएन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले मात्र कोरोना संक्रमण रोकथाम गर्न नसक्ने भएकाले अहिले कालीकोटमा भयावहक समस्या आएको हो ।’
कालीकोटमा कोरोना संक्रमण बढ्दै गएकाले आज ४ बजे सिसिएमसीको बैठक बोलाएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनले तिलागुफामा २० गतेसम्म निषेधाज्ञा गरिएको भएपनि त्यहाँको स्थानीय सरकारले मेला, पर्व पैठलाई रोक्न नसकेपछि कोरोना संक्रमण बढेको बताए । कालीकोटका स्थानीय सरकारले कोरोना संक्रमण रोकथाममा खासै चासो नदिएकाले पछिल्लो समयमा कोरोना संक्रमण कालिकोटमा फैलिएको प्रजिअ गैरेले बताए । उनले स्थानीय तहका प्रमुख कोरोना रोकथाममा जिम्मेवार नभएकाले तिलागुफामा कोरोना संक्रमण बढ्दै गएको बताए ।