७ बैशाख २०८१, शुक्रबार

३ लाखमा पहिरो पन्छ्याएर सडक संचालनमा


कालीकोटः कर्णाली करिडोरअन्तर्गतको कालिकोट सडकखण्ड महिना दिनदेखि अवरुद्ध भएकोे छ । अविरल वर्षाका कारणले ठाउँठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोर महिना दिनदेखि अवरुद्ध भएको हो ।
कर्णाली करिडोरअन्तर्गतका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने काम नभएका कर्णाली करिडोरमा नियमित गाडि संचालन हुन सकेको छैनन् । करिडोर अन्तरगत लालिघाटदेखि रेगिलसम्म गाडि संचालन भएपनि रेगिलदेखि सान्निगाडसम्म विभिन्न ठाउँमा पहिरो भएकाले सडक संचालनमा आउन सकेको छैनन । महिनौ दिनसम्म सडक सुचारु गर्नका लागि सम्बन्धित निकायले ध्यान नदिएको भन्द्यै रेगिलदेखि बेथेखर्क सम्मको सडक स्थानीय व्यापारीले खोलेका छन् ।
उद्योग बाणिज्य संघ कालिकोटका कोषाध्यक्ष गौरी संज्याल स्थानीय व्यापारी बैकुण्ठ गिरी, प्रमुख बुढा, लोकबहादुर विष्टले आफ्नो व्यक्तिगत ३ लाख ८ हजारको लगानीमा सडकको पहिरो पन्छ्याएर गाडि संचालनमा ल्याएका छन् । कर्णाली करिडोर निर्माणको जिम्मा नेपाली सेनाले लिएको कारणले अवरुद्ध सडक खुलाउन समस्या भएको गिरीले बताए । उनले भने, ‘हामीले बेथेखर्क सम्म बाटो खुलार्यौ नेपाली सेनाले हाम्रो काम हो हामी आफै गर्छौ भनेपछि आफुहरुले बेथेखर्कबाट अगाडि बाटो खुलाउन नसकेका र्हौ ।’
कर्णाली करिडोरमा कालिकोट र बाजुरा जिल्ला प्रशासन कार्यालयले अस्थायी रुट परमिट दिएर केही ढुवानीका साधन र सवारीसाधन चल्ने गरेको थियो । त्यहि सडक पनि ठाउँ ठाउँको पहिरोले अवरुद्ध भएपछि खच्चड र मान्छेले पिठ्युँमा भारी बोकेर खाद्यान्न तथा अन्य मालसामान ओसारपोसार गर्नुपर्ने बाध्यता रहेको थियो । अहिले लालिघाटदेखि बेथेखर्कसम्म गाडि संचालन भएपछि केही राहत भएको लोकबहादुर विष्टले बताए ।