७ बैशाख २०८१, शुक्रबार

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित थप १८ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १२ जना र दैलेख अस्पतालमा गरिएको परिक्षणमा ६ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यवसायी, सवारी चालक रहेका छन् ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले सुर्खेतबाट गरिएको परिक्षणमा तीन जना प्रहरी, एक जना नेपाल आर्मीका जवान, एक जना चिकित्सक, एक जना सवारी चालक र एक जना व्यापारी रहेको बताएका छन् ।

अन्य संक्रमितहरु भारत तथा अन्य ठाउँबाट आइ क्वारेन्टिनमा बस्नेहरु रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या दुई हजार पाँच सय ६९ पुगेको छ । नयाँ थपिएका संक्रमितहरु दैलेखका सात जना, सुर्खेतका ६ जना, कालिकोट र दाङका दुई, दुई जना र बाँकेका एक जना रहेका छन् ।

थप ७६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या दुई हजार दुई सय एक पुगेको छ । कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भएको छ भने तीन सय ६२ जना संक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।