८ बैशाख २०८१, शनिबार

मानव अधिकार सहायता कक्ष स्थापना


सुर्खेत । जोखिममा रहेका मानव अधिकार रक्षकहरूको सहायता गर्ने उद्देश्यले बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त सहायता कक्ष स्थापना गरिएको हो ।

साथै उक्त सहायत कक्ष सञ्चालनका लागि सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा टिकाराम आचार्य, मधुरानी ढकाल, दिपेन्द्र शर्मा, खगिसरा ओली, उत्तम आचार्य, विष्णुप्रसाद शर्मा र टीका विष्ट सदस्य रहेका छन् । सहायता कक्षबाट जोखिममा परेका मानव अधिकार रक्षकलाई कानुनीसँगै आर्थिक सहायता पाउने छन् । अरुको अधिकारका लागि लड्ने मानव अधिकार रक्षकहरु विभिन्न किसिमका जोखिममा पर्दै आएका छन् ।

पछिल्लो समय मानव अधिकार रक्षक जोखिममा परेकाले उनीहरूको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए । ‘अरुको अधिकारका लागि लड्दा लड्दै मानव अधिकार रक्षक आफैँ जोखिममा परिरहेका छन्,’ उनले भने, ‘त्यस्ता रक्षकहरूलाई थोरै भए पनि सहयोग सहायता कक्षले गर्ने छ ।’

जोखिममा परेका रक्षकहरूले सहायता सहयोग नपाउँदा उनीहरूको अवस्था दयनीय भएको बताइएको छ । मानव अधिकार सहायता कक्ष सञ्चालक समितिले जोखिममा रहेका मानव अधिकार रक्षकहरूको खोजी गर्ने इन्सेकले जनाएको छ ।

जोखिममा परेका मानव अधिकार रक्षकहरूको प्राथमिकताका आधारमा कानुनी तथा आर्थिक सहायता उपलब्ध गराइने इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले जानकारी दिए । यो समितिले कर्णालीभरि काम गर्ने उनको भनाइ छ । यो समितिले मानव अधिकार रक्षकहरुका लागि महत्वपूणर् भूमिका निर्वाह गर्ने राष्ट्रिय मानव अधिकार आयोग कर्णालीका प्रमुख रमेशकुमार थापाले जनाए ।