कालिकोट कम्युनिस्ट पार्टी भित्र गर्नुपर्ने बहस

वैचारीक बहसबाट बिचार विमर्श गरेर मात्र पुग्दैन ! त्यसको निष्कर्ष पनि तत्काल निकाल्नुपर्छ । अनि मात्र कम्युनिस्ट पार्टी भित्र शुद्धीकरणको खाका तयार हुन्छ । हाम्रो विधि भनेको लोकतान्त्रिक पद्धतिबाट समाजवाद ल्याउनु हो । तर नाटक हामी समाजबादको गरिरहेका छौं । हामी आफैले पनि मनन गर्नुपर्दा बिल्कुल पुजीवादी तर्फको बाटो हिडिरहेका छौँ भन्ने मलाई लाग्छ ।
जिल्ला कमिटी गठन र बिस्तार भएको यत्रो समय बितिरहँदा आजसम्म जिल्ला पार्टीले के गर्यो ? स्थानीय सरकारका ४ बर्ष बितिरहँदा लेखाजोखाको कत्तिको ख्याल गर्यो ? जनताको अपेक्षा अनुसार कत्तिको काम गर्यो ? के आजसम्म गुटका कारण कुनै सर्कुलर जिल्ला पार्टीले दिन नसक्या हो ? आगामी चुनावमा भोट माग्दा कुन तरिकाले भोट माग्ने र जनता सामु जाने ? सञ्चार, सडक, बेरोजगार, खानेपानी, शिक्षा, स्वास्थ्य तिर कत्तिको सन्तुष्ट भए जनता ? यो बारे बसह गर्ने वा नगर्ने । भनिन्छ, भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृती हो, सबैले खाए खाएनन् खोजी गरेर खुवाउनु संस्कृती हो ।
हामी परम्परागत शैलीलाई पर राखौं तर बाढिपहिरोबाट पीडित जनताले अहिलेको अवस्थामा कत्तिको राहत पाए वा कत्तिको ब्यवस्थापन गर्न सक्यौं ? यो बारे जिल्ला पार्टीले बहस गर्ने वा नगर्ने ? स्थानीय निकायमा भएको व्यापक वादविवादलाई जिल्ला पार्टीले एकठाँउमा राखेर बहस गर्ने हिम्मत गर्ने वा नगर्ने ? वर्गसंघर्षबाट आएका विशाल दुई पार्टी एकीकृत भएको बेला आन्तरिक द्वन्दलाई स्थानान्तरण गर्न सक्ने वा नसक्ने ? गुटको राजनीति गरेर कसैलाई काखा र कसैलाई पाखा बनाउने किन ? बर्गियतालाई भन्दा आसेपासेलाई प्रोत्साहन र सम्मान किन ? यसबारे कालिकोट जिल्ला कम्युनिस्ट पार्टी भित्र बहस चलाउने वा नचलाउने ? काङ्ग्रेस पार्टीले यत्रो राहत बाढेर कार्यक्रम गर्दा कोरोना नआउने अनि कम्युनिष्टले राहत र जनता सामु कार्यक्रम राख्दा कोरोना आउने हुन्छ ? कि कम्युनिस्ट नेताकार्यकर्तालाई मात्र कोरोना लाग्छ ? परम्परागत जात्रा (पैठ) गर्दा कोरोना संक्रमण हुने काँग्रेसले भेला गर्दा कोरोना संक्रमण नहुने यसबारे जिल्ला प्रशासनलाई कम्युनिस्ट पार्टीले खबरदारी गर्ने वा नगर्ने ? जिल्ला समिति भित्र रहने कमरेडहरुले एकाअर्कालाई आक्षेप लगाउने खालका हर्कत गरेर बबन्डर मच्चाउदा जिल्ला कम्युनिस्ट पार्टी मुखदर्शक भएर हेर्न मिल्छ ।
तुरुन्तै स्पष्टीकरण मागेर कार्वाहीको दायरामा ल्याउन पर्दैन ? अझ त पछिल्लो चरणमा मुख्यमन्त्री जिल्लामा आउँदा ब्यक्तिगत स्वार्थ हितका लागि दौडधुप गर्ने वा पार्टी, संगठन र जनताहरुका वास्तविक पिडालाई पनि पनि मध्यनजर गर्ने ? कयौं मैले आफ्नै आँखाले देखेका र कानले सुनेका घटना ! मुख्यमन्त्री आउनु भो ? भेट भयो मुख्यमन्त्रीसंग ? मुख्यमन्त्रीसंगै बस्नु भो है हजुर ? हामीलाई वास्ता गर्न छोड्नु भो भनेजस्तै गरेर उसको अनुहार देखिराहुन्छ । फेरि भन्छ, तपाईंको म आफ्नै मान्छे भन्नू न मुख्यमन्त्री के के कुरा गर्नु भो ? ओहो बजेट ब्यवस्थापनमा हामीलाई पनि सहयोग गर्न भन्दिनु न है ! यस्ता हर्कतबाट अलि टाढा रहनसक्नु पर्यो । चासो र चिन्ता त हरेक प्रतिनिधिलाई हुन्छ नै आफ्ना जनताप्रती तर यति मात्र फरक हो । हिजो उहाँ निश्चित संगठनको सदस्य हुनुहुन्थ्यो आज संस्थागत हुनुभएको छ । यसमा हामिले बुझ्नुपर्छ कि उहाँलाई समयको एकदमै खाचो हुन्छ । सबैलाई समय दिने फुर्सद हुदैन ।
तसर्थ हामी आफैले पनि बुझ्न जरुरी देखिन्छ । रोजगारीका बिषयमा कम्युनिस्ट पार्टीले जितेका स्थानीय तहमा बिशेगरी ध्यानदिनुपर्ने कुरा के देख्छु भने चाहे जुनसुकै पार्टीको किन नहोस् । बौद्धिक समुहका जनशक्तिलाई रोजगारी दिने क्रममा उनिहरुलाई अगाडि बढाउनै पर्छ किनभने समाज अराजकता र असन्तुष्ट हुनबाट बच्छ । ६० र ४० गर्नु त्यो स्वाभाविक नै हो तर बिशेष गरी युवाबर्गहरुलाई समेट्नु अतिआवश्यक नै हुन्छ । मानौ एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको कार्यकर्तालाई आफ्नै नागरिक सम्झेन भने ।
एउटा धर्मको शिक्षकले अन्य धर्मको विद्यार्थीलाई पढाउँदिन भन्यो भने । एउटा धर्मको डाक्टरले अन्य धर्मको बिरामीलाई जाँच्दिन भन्यो भने । एउटा धर्मको बैङ्करले अन्य धर्मको सेवाग्राहीको कारोबार गर्दिन भन्यो भने । एउटा धर्मको पाईलट र चालकले अन्य धर्मको यात्रुलाई उडाउँदिन । गुडाउँदिन भन्यो भने । एउटा धर्मको व्यापारीले अन्य धर्मको उपभोक्तालाई सेवा दिदिन भन्यो भने । एउटा धर्मको लेखक र कलाकारले अन्य धर्म मान्नेको भावनालाई आफ्नो लेखन र कलामा प्रतिबिम्बित गर्दिन भन्यो भने । एउटा धर्मको पत्रकारले अन्य धर्मको समाचारलाई प्रकाशन र प्रसारण गर्दिन भन्यो भने । एउटा धर्मको प्रवचक र विद्धानले अन्य धर्म मान्नेलाई ज्ञान दिदिन भन्यो भने ।
यस्ता उदाहरणहरु अरु पनि छन । अन्तः साँच्चै यस्तो अवस्था आयो भने यो समाजको हालत अनि हामी कम्युनिस्ट सर्वहारा बर्ग भनेर उफ्रिरहनेको हालत र अस्तित्व के होला ? कुरा व्यक्तिगत स्वतन्त्रता र स्वार्थको हैन । एउटा विशाल पार्टी र त्यसभित्र रहेका संगठन र सर्वसाधारण आम जनताको चासो र चिन्ता हो । मैले गरेको बिरोध नसम्झिनु । सचेत गराउनु लोकतान्त्रिक पद्धतिमा सबैको अधिकार हुन्छ । अझ म त कम्युनिस्ट पार्टीको शुभचिन्तक न परेँ ।

पूर्णसिंह बम (अनुराग)

 

error: Content is protected !!