८ बैशाख २०८१, शनिबार

१ करोड ६७ लाखको लगानीमा चामुण्डामा डेरी सञ्चालन


दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक करोड ६७ लाखको लगानीमा डेरी उद्योग सञ्चालनमा आएको छ । नगरपालिका–२ चाल्नेचौतारामा सृजन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित दुग्ध डेरी उद्योग गएको साउन महिनाबाट संचालनमा आएपनि औपचारिक रूपमा शुक्रबार उद्घाटन गरिएको छ ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट एक करोड, चामुण्डाबिन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरीबाट प्राप्त भएको ६ लाखसहित १ करोड ६७ लाख लागतमा डेरी सञ्चालनमा आएको हो । स्थानीय स्तरमा नै डेरी उद्योग सञ्चालनमा आए पछि स्थानीय पशुपालक कृषकहरु खुसी भएका छन् । डेरीले स्थानीय दूध संकलन गरि दैलेख बजार, सुर्खेत लगायतका ठाउँमा पु¥याउने बताइएको छ ।

राष्ट्रिय सहकारी बोर्डका सदस्य समेत रहेका सृजन चामुण्डामाई बहुउद्देश्यीय सहकारीका अध्यक्ष भिमबहादुर रावतले किसानका उत्पादन र बजारबिचमा पुलको काम गर्ने बताएका छन् । किसानलाई उत्पादन गर्न आग्रह गर्दै उनले भने, ‘तपाइहरू ढुक्कसँग उत्पादन गर्नुहोस् । तपाइका उत्पादनको बजारीकरण हामी गर्नेछौं ।’

डेरी उद्योग उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले डेरी उद्योग सञ्चालनमा आए संगै किसानको आयआर्जन बढ्ने गतिविधि संचालनमा आएको बताए । आगामी दिनमा सहकारी र किसानलाई भरपुर सहयोग गर्न तयार रहेको बताए ।
उद्घाटन समारोहमा कर्णाली प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानका उत्पादनको बजारीकरण तीनवटैतहका सरकार मिलेर काम गर्नुपर्ने बताइन । सरकारले गरेको लगानीमा नागरिकलाई फाइदा हुनेगरी प्रतिफल दिदा निकै उत्साहित भएर चामुण्डा पुगेको उनको भनाई छ ।

‘किसानले भैंसी पालेर जब दूध दिन सुरु गर्छ । त्यतिबेला उ उत्साहित भएर राम्रो राम्रो घाँस खोज्न जान्छ ।’ उनले भनिन्, ‘हामीले गरेको लगानीमा नागरिकको गोजीमा पैसा पर्ने प्रतिफल आउँदा मलाई कतिबेला यहाँ पुगुला लागेको थियो ।’ उनले किसान र कृषि पेसालाई सबैले सम्मानित पेसाको रूपमा बुझ्न आग्रहसमेत गरिन् । साथै किसानलाई पेन्सन, किसानका उत्पानको बिमा लगायत, न्युनतम लागत मुल्य किसानलाई दिने लगायत कार्यक्रम सुरु गरिने समेत मन्त्री केसीले बताइन ।