सुविधा सम्पन्न कोरोना अस्पतालको उद्घाटन

कालीकोटः जिल्लामा भेन्टिलेटर र आईसीयू सेवा सहितको कोरोना बिशेष अस्पताल संचालनमा आएको छ । कर्णाली प्रदेश सरकारको झण्डै १ करोड ७० लाखको लागत तथा बिभिन्न दाताहरुको सहयोगमा सुविधा सम्पन्न कोरोना बिशेष अस्पताल आईतबारदेखी संचालनमा आएको छ ।
आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त कोरोना विशेष अस्पतालको औपचारीक रुपमा उद्घाटन गरी संचालनमा ल्याईएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि जिल्लामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन जिल्ला सदरमुकाममा रहेको एकिकृत भवनमा कोरोना बिशेष अस्पताल संचालन गरिएको छ । जसमा एक भेन्टिलेटर सहित ५ वटा आईसीयू सेवा सञ्चालनमा आएको छ । आवश्यक उपकरणहरु जडान भएपछि (आइसीयू) सेवा सञ्चालन गरिएको हो ।
अस्पताल उद्घाटन कार्यक्रममा डा. बिज्ञान प्रजापतीले ५५ बेड, एउटा भेन्टिलेटर, पाँच बेडको आइसीयू, ३ वटा कृतिम अक्सीजन दिने मेसिन सहितको सेवा सञ्चालनमा ल्याइएको बताए । भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा ल्याइसकेकाले जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने जानकारी गराए । प्रदेश सरकारको एक करोड ७० लाख बजेटबाट भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आइसीयू) सञ्चालनमा ल्याइएको हो ।
उनले कर्णाली प्रदेशको सहयोगमा कोरोना अस्पतालमा संकास्पद, सामान्य विरामी, संक्रमित विरामीलाई राख्नका लागि फरक फरक कोठा बनाएको बताए । उनले संकास्पद र कोरोना संक्रमित सुत्केरी महिलाहरुका लागि पनि अलग कक्षको व्यवस्था गरेको बताए । सामान्य तरिकाको अप्रेसन गर्नका लागि पनि कोठाको व्यवस्थापन गरेको बताए । कोभिडसंग मिल्दाजुल्दा लक्षण भएका विरामीलाई सेवा गर्ने डाक्टरले बताए ।
अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरसको महामारी रोकथाम तथा नागरिकले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवाको ग्यारेन्टी गरिने बताए । उनले अब कर्णलीका कुनै पनि जिल्लामा नागरिकहरुले सामान्य बिरामको उपचार गर्न जिल्ला बाहिर गएर धेरै खर्च गर्नु नपर्ने बताए । उनले भने, ‘कर्णालीमा सर्बसाधारणले बिरामको उपचार गर्न घर खेत बेच्नु पर्ने अवस्था थियो । अब त्यसो गर्नु पर्दैन् । हरेक जिल्लामा सुविधा सम्पन्न अस्पताल संचालन गरी नागरिकले जटिल प्रकारको रोग लाग्दा पनि जिल्लामै उपचार सेवा पाउने बाताबरण बनाएका छौँ ।’ कोरोनाबाट जोगिन र व्यक्तिगत तथा घरायसी सरसफाईमा जोड् दिदै सबै नागरिकहरु सचेत भएर काम गर्नुपर्ने उनको भनाई छ ।
उनले आफ्ना नागरिकलाई उद्धार गर्नु दायित्व भएकाले बाहिरबाट नागरिकलाई नेपालमा भित्र्याइएको बताए । कार्यक्रममा नेकपाका अध्यक्ष धनजित शाहीले संघियताको पूर्ण रुपमा पालना भएको बताए । त्यस्तै नेपाली कांग्रेसका नेता दमनबहादुर शाहीले सुविधासम्पन्न अस्पताल बनिसकेकाले अव पिसिआर मेसिन पनि कालीकोटमै जडान गर्न माग गरे । नेमकिपाका नेता नन्दबहादुर शाही खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डे, जिल्ला अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटी लगायतका वक्ताहरुले जिल्लामा भेन्टीलेटर, आईसीयू सेवा सहितको कोरोना बिशेष अस्पताल संचालनसँगै जिल्लाको स्वास्थ्य सेवामा ठुलो उपलब्धी भएको बताए ।
उनीहरुले प्रदेश सरकारकै सहयोगमा संचालन भएको यो अस्पताललाई दक्ष जनशक्ति र अन्य व्यवस्थापनमा पनि थप सुधार गर्न सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

error: Content is protected !!