७ बैशाख २०८१, शुक्रबार

दशैँका लागि ६ करोड बराबरका खसी–बोका ल्याउने तयारी


काठमाडौं । दशैँका लागि काठमाडौँ उपत्यकामा ६ करोड मुल्य बराबरका खसी–बोका ल्याउने तयारी गरिएको छ । गत वर्षहरुमा जस्तै यसपाली पनि सरकारले उपत्यकाबासीलाई दशैँमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक ६ करोड रुपैयाँ बराबरको खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने बताएको छ ।

यस पटक खाद्यले तीन हजार वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका लागि खाद्यले अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४०० वटा खसी–बोका र १६०० वटा च्याङ्ग्रा ल्याएको थियो ।

यस वर्ष पनि उपत्यकावासीलाई सोही परिमाणमा खसी–बोका र च्याङ्ग्रा उपलब्ध गराउने गरी चालु आर्थिक वर्षको बजेट पारित गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले जानकारी दिए ।

लामो समयदेखि खाद्य कम्पनीले उपभोक्तालाई खाद्यान्नका साथै दशैंमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा समेत उपलब्ध गराउँदै आएको छ । यस पटक पनि सोही कार्यक्रमलाई निरन्तरता दिन लागिएको नायव प्रवन्ध निर्देशक खनालको भनाइ छ ।

न्यौपानेका अनुसार दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट काठमाडौंमा खसी–बोका ल्याउने गरिएको छ । तर च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइने उनले बताइन् । यस वर्ष सम्भव भएसम्म नजिकका क्षेत्रबाट ल्याउने, नभए तिनै क्षेत्रबाट भए पनि खसी–बोका तथा च्याङ्ग्रा ल्याउने उनको भनाइ छ ।
साभार रातोपाटीबाट