बलात्कारको झुटो आरोप लगाउने युवतीलाई कैद सजाय

सुर्खेत । आफुलाई बलात्कार गरेको भन्दै अदालतमा झुटो उजुरी दिने सुर्खेतकी एक युवतिलाई अदालतले कैद सजाय तोकेको छ । जिल्ला अदालत सुर्खेतले जिल्लाको बराहताल गाउँपालिकाकी–१८ वर्षीय एक युवतिलाई बलात्कार भएको बारे झुटो उजुरी दिएको ठहर गर्दै उनलाई एक महिनाको कैद सजाय सुनाएको हो ।

अदालतले झुटो उजुरी दिने ती युवतीलाई एक महिना कैद सजायसहित एक हजार पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए ।

ती युवतीले जागिर लगाइदिने भन्दै तत्कालिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख रामप्रसाद गुप्ता ‘रामबाबु’ले आफूमाथी पटक–पटक बलात्कार गरेकोभन्दै उजुरी दिएकी थिइन् । गत असोज २८ र ३० गते आफूमाथि बलात्कार भएको बताउँदै उनले गत मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजूरी दिएकी थिइन् ।

तर, अदालतमा बलात्कार भएको प्रमाणित नभएपछि यहिँ भदौ १४ गते अदालतले झुटो उजुरी दिएको भन्दै महिलालाई नै सजाय तोकेको हो । ‘पीडित भनिएकी युवतीले झुटा उजुरी दिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको छ’, अदालतका श्रेस्तेदार बास्कोटाले भने ।

हाल झुटो उजुरी दिने ती युवती भने फरार छिन् । कैद भुक्तानी तथा जरिवाना असुलका लागि अदालतले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाउने तयारी गरेको श्रेस्तेदार बास्कोटाले जानकारी दिए ।

error: Content is protected !!