१६ चैत्र २०८०, शुक्रबार

चिनियाँ दुतावासले भन्यो, ‘हाम्रै भू–भागमा भवन बनेका हुन’


सुर्खेत । चिनियाँ दुतावासले नेपालको हुम्लासंग सिमाना जोडिएको भू–भागमा बनाएका भवन आफ्नै भू–भागमा भएको बताएको छ ।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् ।

नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचार प्रति दूतावासले खण्डन गर्दै यस्तो बताएको हो ।

‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन् । उनले चीन र नेपाल नजिकको छिमेकी रहेको बताएका छन् । ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ,’ उनले भनेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रमा पर्ने भू–भागमा चिनियाँ पक्षले भवन निर्माण गरेको भन्दै स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो ।

उक्त टोलीले स्थलगत अध्ययन गरेपछि केन्द्रमा रिपोर्ट पठाएको छ । तर उक्त सीमा सम्बन्धमा नेपाल सरकारको कुनै पनि धारणा आएको छैन ।