७ बैशाख २०८१, शुक्रबार

२५ हजार बढी सक्रिय संक्रमित भए फेरि लकडाउन हुने


काठमाडौं । इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए ।

‘अहिले १७ हजार सक्रिय संक्रमित छन् । कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दाबन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ ।’

सँगै संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना नभएका विभिन्न क्षेत्र अझै एक महिनासम्म बन्द गर्ने निर्णय गरेको छ । आईसीएसको बैठकले एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता गौतमले बताए ।