६ बैशाख २०८१, बिहीबार

रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन


सुर्खेत । रुकुम (पश्चिम)को सोतीमा भएको हत्याकाण्डका दोषीलाई हदैसम्मको कारवाहीको माग सहित उच्च अदालत सुर्खेत अगाडी प्रर्दशन भएको छ ।

दोषीलाई हदैसम्मको कारवाही र पिडितलाई न्यायको माग सहित संयुक्त राजनीतिक दलित संघर्ष समितिले उच्च अदालत वाहिर विभिन्न नारा लेखिएका प्ले कार्ड सहित प्रर्दशन गरेको हो । गत जेठ १० गते रुकुम (पश्चिम)मा नवराज विक सहित ६ जनाको सामुहिक हत्या भएको थियो ।

घटनामा संलग्न भएका मध्ये २३ जनालाई जिल्ला अदालत रुकुमले पुर्वक्षका लागि जेल चलान गरिसकेको छ । जसमध्य ६ जनाले आफुहरु उक्त घटनामा संलग्न नरहेको बताउँदै जिल्ला अदालतको आदेशलाई खारेज गरी पुर्वक्षमा नभई बाहिरबाटै मुद्धा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएका थिए ।

उक्त मुद्वाका विषयमा बिहिबार दिउँसो वहस भईरहेका समयमा खबरदारी स्वरुप अदालत वाहिर दलित अधिकारकर्मीहरुले प्रर्दशन गरेका हुन् ।

दलित भएकै कारण ६ जनालाई मारिएको बताउँदै घटनामा संलग्न ६ जनालाई उच्च अदालतले पनि कुनैपनि बाहानामा नछोडोस् भनेर खवरदारी कार्यक्रमको आयोजना गरिएको दलित अधिकारकर्मी खगेन्द्र सुनारले बताए ।