२४ माघ २०८१, बिहीबार

चोरी भएका मूर्तिसहित तीनजना पक्राउ


जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका दुई मूर्ति सहित तीनजना पक्राउ परेका छन् । २०७३ सालमा मन्दिरबाट चोरी भएका बहुमुल्य मूर्तिहरु मध्य विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान १०ः१५ बजे चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँस्थित शुसिल विष्टको खेतको आलीमा सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अबस्थामा भेटिएको डिएसपी माधव काफ्लले बताए ।

उनका अनुसार दुई थान मुर्तिसंगै उक्त घटनामा संग्लन तीन जना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१० निवासी वर्ष ३२ का शुसिल विष्ट, तातोपानी गाउँपालिका–८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने वर्ष २८ का जयलाल थापा र चन्दनना नगरपालिका १० कै वर्ष २३ का सुदिप रावललाई पक्राउ गरिएको छ ।

पाँच वर्ष पहिले चोरी भएका दर्जनौ मुर्ति मध्ये हाल सम्मको तथ्याङ्क अनुसार विभिन्न ठाउँमा गरी करिब २० वटा मूर्ति भेटिएका छन् ।