७ बैशाख २०८१, शुक्रबार

डब्लुएचओले भन्यो –विश्वभरका १० प्रतिशत मानिसलाई कोरोना संक्रमण भइसकेको हुनसक्छ


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरका १० प्रतिशत मानिसलाई कोरोना संक्रमण भइसकेको हुन सक्ने बताएको छ । उसले यो संख्या हाल प्रमाणित भइसकेका ३ करोड ५० लाख संक्रमित भन्दा बढी भइसकेको हुनसक्ने अनुमान गरेको हो ।

‘हाम्रो अहिलेसम्मको उत्कृष्ट अनुमानले विश्वको १० प्रतिशत जनसंख्यालाई संक्रमण भइसकेको हुनुपर्छ’, संगठनका आपतकालिन संचालन प्रमुख माइक रायनले भने । संगठनको सोमबार बसेको कार्यकारी बोर्डको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘देश अनुसार यो फरक हुनसक्छ । यो शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा फरक पर्नसक्छ । यो समूहबिचमा फरक हुनसक्छ’, रायनले जेनेभामा भने, ’यसको मतलब विश्वको धेरै संख्या खतरामा छ भन्ने हो ।’

रायनका अनुसार कोरोनाका कारण हुने संक्रमण र मृत्यु युरोप, दक्षिणपूर्वी एसिया र पूर्वी भूमध्य क्षेत्रमा बढिरहेको छ जबकी अफ्रिका र पश्चिम प्रशान्तमा अन्यत्रभन्दा बढी राम्रो छ ।

उनले संसारमा महामारी विकास हुने क्रम जारी रहेपनि विश्वसँग कोरोनालाई दबाउँदै जीवन बचाउने उपकरण भएको बताए ।
‘यसको भविष्य हामीले सामुहिकरूपमा हामीले प्रयोग गर्ने उपकरण, तिनको विकास, व्यापकता र वितरणको रोजाइमा भर पर्छ’, उनले थपे ।