८ बैशाख २०८१, शनिबार

सशस्त्र प्रहरीले बचाए सुत्केरी महिलाको ज्यान 


कालीकोटः सशस्त्र प्रहरी बल, कालीकोटमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार डिल बहादुर बंशी मगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।
खाडाचक्र नगरपालिका–५ दाँहा निवासी ३५ वर्षीया पुल्ती गोराललाइ बंशीमगरले रगत दान गरि बचाएका हुन् । बच्चा जन्माउन नसकेपछि गोराललाई स्वास्थ्य सेवा कार्यालय कालीकोट ल्याइएको थियो । अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेपछि सशस्त्र प्रहरीलाई खबर गर्दा गुल्मपति सप्रनाउ राम बहादुर पाली बोगटीको पहलमा सहायक हवल्दार बंशी मगले रगत दिएपछि गोरालको ज्यान बचेको स्वास्थ्य कार्यालयले बताएको छ ।
गुल्मपति रामबहादुर पाली बोगटीका अनुसार बंशी मगरले एक प्रिन्ट ‘एबी पोजेटिभ’ रगत दान गरेका थिए । बोगटीका अनुसार सशस्त्र प्रहरी बल, नेपाल जिल्लाको शान्ति सुरक्षाको अलवा विकटता, अभाव र सिमितताका वावजुत कालीकोट जिल्लावासीहरुको साथमा जुनसुकै किसिमको आपत विपद्को समयमा समेत साथ दिदै आएको बताए ।
आफुले कर्णाली क्षेत्रमा स्वास्थ्य सेवा तथा रगत अभावका कारण कयांै सुत्केरी महिलाले अकालमै ज्यान गुमाई रहेको समाचार सुनिरहेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल गुल्म कालीकोटले सुत्केरी महिलाको ज्यान जोखिममा पर्नवाट जोगाउन पाउदा खुशी लागेको बोगटीले बताए ।
कालीकोट जिल्लामा ब्लडबैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीय नागरिकले नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीको सहयोग लिने गरेका छन् ।