८ बैशाख २०८१, शनिबार

कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो


सुर्खेत । कर्णाली प्र्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६९ जनामा संक्रमण देखिए संगै यो संख्या चार हजार ३७ पुगेको हो ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ६४, दैलेख अस्पताल प्रयोगशालामा चार जना, चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा एक जनामा संक्रमण पुष्टी भएको हो ।

नयाँ संक्रमितहरु सुर्खेतका ५४ जना, दैलेख पाँच, डोल्पाका दुई, रुकुम पश्चिम र जुम्लाका एक, एक जना र अन्य प्रदेशका ६ जना रहेका छन् ।

थप ४४ जना निको भए

पछिल्लो २४ घण्टामा थप ४४ जना संक्रमित निको भएका छन् । यो संगै कुल निको हुनेको संख्या तीन हजार दुई सय २९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार हाल सम्म कुल संक्रमित मध्य १० जनाको मृत्यु भएको छ भने सात सय ८२ जना सक्रिय संक्रमित प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् ।