८ बैशाख २०८१, शनिबार

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध


काठमाडौँ । पाकिस्तानमा पनि चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण (पीटीए) ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।

टिकटकले ‘अश्लील’ र ‘अनैतिक’ सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता जनाए मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने पनि पीटीएले जनाएको छ । यस बारेमा समाचार एजेन्सी रोयटर्ससँग प्रतिक्रिया दिँदै टिकटकले ‘जहाँ यो एप प्रयोग भइरहेको छ, त्यहाँको कानुन पालना गर्न कम्पनी प्रतिबद्ध’ रहेको बताएको छ । उसले यसबारेमा पीटीएसँग लगातार कुरा भइरहेको पनि बताएको छ । पीटीएका अनुसार पाकिस्तानमा प्रतिमहिना टिकटकका २ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पाकिस्तानमा ह्वाट्सएप र फेसबुकपछि टिकटक एप सबैभन्दा बढी डाउनलोड गरिएको छ ।

टिकटक चिनियाँ कम्पनी बाइटडाइन्सको सोसल मिडिया एप हो । पछिल्लो समय यो एप युवा पुस्तामाझ निकै नै लोकप्रिय मानिन्छ । तर यसमा पोस्ट हुने विषयबस्तुलाई लिएर भने बेलाबेलामा विवाद उत्पन्न हुने गरेको छ । केही समय अघि भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै टिकटकसहित सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि टिकटक अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । तर त्यहाँको एउटा अदालतले तत्काल टिकटकमाथि प्रतिबन्ध नलगाउन आदेश दिएको छ । एजेन्सी