बृहत खानेपानी आयोजनाको गाउँपालिकाले गर्यो उदघाटन

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा निर्माण गरिएको सानिरहडा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।
नरहरिनाथ गाउँपालिकाका स्थानीय नागरिकलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यका साथ निर्माण थालिएको आयोजनाको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट र उपाध्यक्ष मनशोभा बुढाले उद्घाटन गरेका हुन् । हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरेन्डेक नेपालको प्राविधिक सहयोगमा २ करोड ५५ लाख १२ हजार ७ सय ९७ रूपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि गाउँपालिकाले उद्घाटन गरेको छ ।
हेल्भेटासको १ करोड, नरहरिनाथ गाउँपालिकाको १ करोड लगानि र बाँकी स्थानीयको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले जनाए । ३ सय ८२ घरधुरीलाई शुद्ध खानेपानी पु¥याएको अध्यक्ष विष्टले बताए । उनले ‘पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीको मुख्य समस्या खानेपानी भएकाले अव प्रत्येक घरधुरीका घरमा नै पानी आउने छ ।’ उनले भने, ‘अव घर आगनमै खानेपानी नरहरिनाथ गाउँपालिकाका नागरिकले पाउनले छन् पानी बोक्नका लागि ३० मिनेटको बाटो हिड्नुपर्ने बाध्यता हटेको छ ।’
तत्काल ३८२ धाराहरू सञ्चालनमा आइसकेको र बाँकी २५० घरधुरीमा धाराहरू जडान गर्न सर्वेक्षण भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।
हुरून्डेक नेपालका उपाध्यक्ष विरेन्द्र बुढाले आफ्नो संस्थाले प्राविधिक सहयोग गरेको बताए । हुरून्डेक नेपालले आयोजना निर्माण कार्यमा समुदायको परिचालन, सार्वजनिक लेखा परिक्षण, सामाजिक परिक्षण र अन्य प्राविधिक पाटोहरूमा काम गरेको थियो । गत मंसीरबाट आयोजना निर्माण थालिएको बुढाले बताए ।

error: Content is protected !!