४ बैशाख २०८१, मंगलवार

रेडपाण्डाको छाला सहित सुर्खेतमा चार जना पक्राउ


सुर्खेत । दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित सुर्खेतमा चार जना पक्राउ परेका छन् । रेडपाण्डाको छाला (ओखेटोपहार) को कारोबार भइरहेको छ, भन्ने बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी निरिक्षक गोपाल रायमाझिको नेतृत्वमा खटिएको टोलीले वीरेन्द्रनगर–६ गोदामलाइन स्थित पञ्चकोशी होटलको दोस्रो तलाको कोठा नम्बर ३ बाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट एउटा चार फिट र अर्को तीन फिट ६ इन्च लम्बाइ भएको दुइ थान रेडपाण्डाको छाला (ओखेटो पहार) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । छाला संगै चार थान मोवाईल, छाला राख्ने झोला, टावेल समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा दैलेख नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ बस्ने ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका–९ बस्ने ४० वर्षीय सबिता थापा रहेको एसपी भट्टले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइने प्रहरीले जानकारी दिएको छ ।