जुम्लामा सोलारयुक्त चार सामुदायिक सेवा केन्द्र निर्माण हुँदै

जुम्लाः जिल्लामा चार वटा सुबिधा सम्पन्न सामुदायिक सेवा केन्द्र निर्माण हुने भएका छन् । तातोपानी गाउँ पालिका वडा नं. ३ लिताकोटमा एक, तिला गाउँ पालिका वडा नं. २ र वडा नं. ९ मा एकएक तथा हिमा गाउँ पालिका वडा नं. ७ मा एक गरि चार वटा भवन निर्माण कार्यको थालनी गरिएको हो ।
तातोपानीको लिताकोटमा १ करोड, १९ लाख, तिला गाउँ पालिका वडा नं. २ मा १ करोड, १७ लाख र ९ मा १ करोड, ६९ लाख तथा हिमा गाउँ पालिका वडा नं. ७ मा १ करोड, १८ लाख रकममा भवनहरुको निर्माण कार्य आरम्भ भएको पेस नेपाल जुम्लाका कार्यक्रम संयोजक शंखुप्रसाद जैसीले जानकारी दिए ।
अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा पेस नेपाल जुम्लाद्धारा सोलारयुक्त भवनको निर्माण हुन थालेका हुन् । उद्यमशिल महिला समूहहरुले गाउँपालिकामा उत्पादन गरेका बस्तुहरुको बिक्रि गरि आय आर्जनमा बृद्धि गराउने, जलवायु परिबर्तनको सूचना केन्द्रका रुपमा स्थापित गर्ने गरि महिला सञ्जाल तथा महिला सहकारी संस्थाहरुले रेखदेख गर्ने योजना सहित भवनहरुको निर्माण गर्न लागिएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए ।
सोलारयुक्त सुविधा सम्पन्न भवनको तल्लो तलामा तिन वटा सटर सहित एक कोठा र माथिल्लो तलामा तालिम हल सञ्चालन गरिने छ । भवन निर्माणका लागि सम्बन्धित गाउँ पालिकाको समन्वयमा निशुल्क जग्गा उपलब्ध गराएको बताइएको छ ।
आगामी चैत्र मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य सुरु गरिएका भवन निर्माणमा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको छ ।