७ बैशाख २०८१, शुक्रबार

अझै हटेन बालिघरे प्रथा


कालीकोटः जिल्लाको सदरमुकाम रहेको खाडाचक्र नगरपालिका–१ का विपन्न दलित समुदायले बालिघरे प्रथालाई निरन्तरता दिइरहेका छन् । १० वर्षअघि नै अन्त्यको घोषणा गरिएको यो प्रथा अहिले पनि कायमै छ ।
जीविकोपार्जनको विकल्प नभएपछि थोरै अन्नको भरमा वर्षभरी काम गर्नुपर्ने बालिघरे प्रथालाई दलित समुदायले छोड्न सकेका छैनन् । श्रमको उचित मूल्य नपाउने बालिघरे प्रथाका कारण दलित समुदाय वर्षौदेखि श्रमशोषणमा परिरहेका छन् । जिल्लाको मुटु मानिने खाडाचक्र नगरपालिकामा पनि यो प्रथा अझै कायमै रहेको छ ।
खाडाचक्र नगरपालिका–१ का भारमले सुनार अहिले ६० वर्षका भए । उनले करिव १० वर्षदेखि ७ जनाको परिवार बालिघरे प्रथाबाट पालिरहेका छन् । ब्राहमण, क्षेत्री, ठकुरी समुदायको हसिया, कोदालो लगायतका औजार बनाउने र धार लाउने काम गरेको ज्याला वापत उनले अन्नपात लिने गरेको बताए । गाउँभरिका ठकुरीको काम गर्दापनि जम्मा हुने अन्नले उनको परिवारलाई वर्षभरी खान भने पुग्दैन । वर्षको २ पटक अन्न उठाउने गरेको खाडाचक्र नगरपालिका–१ की ५८ वषिय धनसरा सुनारले बताइन् । उनका अनुसार जेठ महिनामा गहुँ र कात्तिकमा धान दिने गरेको जानकारी दिइन् । ठकुरी समुदायले दिएको अन्नपात अनुसार आफुले हसिया, खुडा, दाव, बाउसो, चक्कु बनाउने गरेको बताईन् ।
सुनार त प्रतिनिधि पात्र मात्र हुन् । बालिघरे र खलो प्रथाको अन्त्यको घोषणा भएको दशक बिते पनि बालिघरे प्रथा अहिले पनि कायमै रहेको छ । बर्षभर परिश्रम गरे बापत एकपाथी दुइ पाथी अन्नमा यहाँका दलित समुदायले चित्त बुझाउनुपरेको छ । अझै पनि ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा हट्न सकेको छैन भारमले सुनारले भने, ‘सदियौ देखि चलिआएको बालिघरे प्रथामा चित्त बुझाउन परेको छ ।’ कसैले पचास, एक सय रुपैया दिन्छन् कसैले अन्न दिन्छन् । उनले भने, ‘पैसा भन्दा पनि बाबु बाजेले उठाउर्दै आएको अन्न माग्ने मन लाग्छ ।’


मुलुकमा दलितको नाममा आन्दोलन र सवैलाई सम्मानका साथै काममा लगाएपछि परिश्रम अनुसार मुल्य दिनुपर्ने भनिएको छ । श्रम ऐनमा पनि त्यो व्यवस्था गरिएको छ । तरपनि अझै यी प्रथाहरुका कारण दलित समुदाय श्रम शोषणमा परिरहेका छन् । श्रम ऐन २०७४ ले व्यवस्था गरेअनुसार श्रमीकले काम गरेवापत पाउनु पर्ने पारिश्रमीक पाउन सकेका छैनन् । जिल्लाको सदरमुकाम रहेको कालीकोटमा नै यो प्रथा कार्यमै छ भने अन्य ग्रामिण भेगमा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने दलित समुदाय बर्षभरी काम गरेवापत एकपाथी दुइपाथी अन्न लिएर चित्त बुझाउनुपर्ने बाध्यता रहिआएको छ ।
लुगा सिलाएको, कृषि औजार बनाएको, जुत्ता बनाएवापत पारिश्रमिक नभइ थोरै अन्नमा चित्त बुझाउनुपर्ने ग्रामीण क्षेत्रका दलित समुदायको बाध्यता छ । जिविकाको वैकल्पिक व्यवस्था नहुँदा श्रमको मूल्य बिनै काम गर्नुपरेको उनीहरु बताउँछन् । मुलुकमा बिभिन्न परिवर्तनसँगै सामाजिक रुपान्तरणका तमाम प्रयास भएपनि अधिकांश ग्रामीण क्षेत्रमा बालिघरे प्रथा हटेको छैन । सामाजिक विभेद र श्रमशोषण अन्त्यका लागि थुप्रै कानुन पनि बनेका छन् । तर, जीविकाको विकल्प नभएकै कारण आफुहरुले यो प्रथालाई निरन्तरता दिनु परेको धनसरा सुनारले बताईन् ।
आफूभन्दा माथिल्ला जातका बाहुन, क्षेत्री, ठकुरीलगायतको मात्र होइन आफ्ना छिमेकीको घरमा काम गर्न गएपछि ज्याला लिदैर्नौ । बालीघरे प्रथामा घरमा काम गर्न गएपछि नगद ज्याला होइन अन्नबाली ल्याउने गर्छौ सुनारले भनिन् । गाउँमा चल्दै आएको चलन र ससुराले गर्दै आएको प्रथा भएकाले छाड्न नसकेको उनको भनाई छ । जवसम्म दलित समुदाय आफै आत्मनिर्भर बन्न सक्दैनन तवसम्म बालिघरे प्रथा कायमै रहने जानकारवाला बताउछन् ।