खुल्ला चौरमा बसेर पढ्नुपर्ने बाध्यता

कालीकोटः चिसो बढ्दै गइरहेका बेला जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–१ का विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीहरु खाली चौरमा बसेर पढ्न बाध्य भएका हुन् ।
सान्नित्रिवेणी गाउँपालिका–१ सेरीज्यूलामा रहेको शंकर माविका बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण हुनुभन्दा पहिले विद्यालयमा कार्पेटमा बसेर पढ्न पाएका विद्यार्थी लकडाउन भन्दा पछि विद्यालय संचालन भएपछि खुल्ला चौरमा धुलोमा बसेर पढ्न बाध्य भएका शंकर माविका शिक्षक खेमराज गिरीले बताए ।

उनका अनुसार पहिले कार्पेट विछ्याएको भएपनि विद्यालयलाई आइसोलेशन बनाएपछि अहिलेसम्म पनि विद्यार्थीले काप्र्रेट नपाएको उनको भनाई छ । विद्यार्थीको पढाई सहजताका लागि गाउँपालिकामा निवेदन दिएको भएपनि गाउँपालिकाले कुनै वास्ता नगरेको गिरीले बताए ।
शिक्षक गिरीका अनुसार बालकक्षादेखि ५ कक्षाका विद्यार्थीहरुका लागि तत्काल बेन्च–डेक्सको आवश्यकता नभएपनि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको तर प्रयास सफल हुन नसकेको बताए । उनले भुईमा राखेर बालबालिकालाई पढाउनु बाध्यता रहेको बताए । विद्यालयलाई आइसोलेशन बनाएपछि विद्यालयमा भएका कार्पेट पनि हराए गाउँपालिकाले अर्को व्यवस्था गरेको छैन । बाध्य भएर विद्यार्थीलाई धुलो, माटोमा राखेर पढाउनु परेको हो ।

error: Content is protected !!