व्यक्तिगत लगानीमा विद्यालयको भवन निमार्ण

कालीकोटः जिल्लाको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम ‘पलाती कान्छा’ ले आफ्नो व्यक्तिगत लगानीमा २ कोठाको विद्यालय भवन निमार्ण गरेका छन् ।
पलाता गाउँपालिका–१ खाडामा रहेको गणेश आधारभुत विद्यालयको दुई कोठे भवन आफ्नो व्यक्तिगत १५ लाखको लगानीमा निमार्ण गरेका छन् । विद्यालयमा भवनको अभाव भएर बालबालिका जिर्ण भवनमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अध्यक्ष बमले भवन निमार्ण गरेका छन् । पलाताको विकासका लागि आफु लागिपरेको भएपनि केही विकास विरोधीहरुले आफुले गरेको विकास देख्न नचाहेको अध्यक्ष बमले बताए ।
उनले भने, ‘योजनाको अनुगमनमा खाडामा आएको थिए बालबालिका विद्यालय बाहिर बसेर पढेको देखे त्यहाँका शिक्षकले कक्षा कोठाको अभाव भएको बताएपछि गाउँपालिकाबाट तत्काल बजेटको व्यवस्थापन गर्न सकिने अवस्था थिएन र आफ्नो व्यक्तिगत १५ लाख खर्च गरि विद्यालयको भवन निमार्ण गरेको हुँ ।’
विद्यालय भवन जिर्ण भएको देखेपछि आफुलाई सहयोगको ईच्छा जागेको उनले बताए । ‘पानी चुहिएर भवन जिर्ण भईसकेको थियो, मेरो चाहना पनि यस्तै विद्यालयलाई सघाउने थियो,’ बमले भने, ‘त्यहि चाहना अनुसार बनाएको हुँ, अहिले विद्यालयको भवनमा विद्यार्थी बसेर पढिरहेको पाउदा खुसि छु ।’
२०४६ सालमा जनसहभागिताबाट बनेको भवन जिर्ण बन्दै गएको थियो । ‘विद्यालयको टिनका छाना चुहेर विद्यार्थी बर्षा याममा पढ्न नसक्ने अवस्था थियो,’ सोही बमोजिम मैले विद्यालयको भवन निमार्ण गरेको हुँ । अहिले विद्यालयमा १ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।