८ बैशाख २०८१, शनिबार

खरको छानामुक्त अभियान शुरु


कालीकोटः जिल्लाको महावै गाउँपालिकाले खरको छानामुक्त अभियान सुरु गरेको छ । विपन्न र आर्थिक अवस्था कमजोर भएर अहिलेसम्म पनि खरको छाना बनाएर बसिरहेका नागरिलाई खरको छाना मुक्त बनाउने अभियान महावै गाउँपालिकामा सुरु भएको छ ।
खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान शुरु भएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र टिकाउ नहुने हुँदा छानो फेरिराख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुने महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए । उनका अनुसार पहिलो चरणमा गाउँपालिकाको अनुदानबाट वडा नं ६ र ७ मा अभियान सुरु गरिएको छ । यो अभियान गाउँपालिका भरि चल्ने छ ।
पहिलो चरणमा साविकको गेला गाविसमा जस्ता पाता वितरण गरिएको महावै गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले बताए । उनका अनुसार साविकको ओदानकु गाविस हाल महावै गाउँपालिका वडा नं १, २ र ३ मा पनि खरको छानामुक्त अभियान सुरु गरिने भएको छ । महावै गाउँपालिकाको गाउँसभाबाट गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका बनाउने निर्णय गरिएको थियो सोही निर्णय बमोजिम अभियान सुरु गरिएको उपाध्यक्ष शाहीले बताए ।
खरका छाना भएको कारण आगलागीको जोखिम हुने भएकोले गाउँपालिकालाई खर छाना मुक्त गाउँपालिका बनाउने निर्णय गरेको हो । उनले भने, ‘ महावैमा अधिकाँश सुख्खा क्षेत्र भएकोले आगलागीको जोखिम बढी रहने भन्दै आगलागीबाट जोगाउन घरधनी र गाउँपालिकाको अनुदानमा गाउँपालिकालाई टिनको छानायुक्त बनाउने निर्णय भएको थियो ।’ ‘खरका छानाका कारणले बिपत्तिको जोखिम धेरै छ ।’ उनले भने, ‘धनजनको क्षतिबाट बचाउनका खरको छाना हटाएर टिनको छाना बनाउने निर्णय गरेका थिर्यौ ।’
महावैमा ३० प्रतिशत घरहरुमा खरको छाना भएको हुनाले यही आर्थिक वर्षबाट गेला बस्तीबाट खरको छाना हटाउने कार्यक्रम सुरु गरिएको शाहीले बताए । ‘खरको छाना मुक्त गाउँपालिका बनाउन केन्द्र सरकार, प्रदेश सरकार, र संघसंस्थाको सहयोग पनि रहेको छ ।’