६ बैशाख २०८१, बिहीबार

पहिलो बर्षगाठमा शैक्षिक सामाग्री वितरण



कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–५ मा रहेका खापर मष्टा आधारभुत विद्यालय, कालीका माध्यमिक विद्यालय र महादेव आधारभुत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
आफ्नो पहिलो बैवाहिक बर्षगाठको अवसरमा सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेश बमले ३ वटा विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीलाई झोला, स्टेशनरी सामाना र जकेट वितरण गरेका छन् । प्रति विद्यार्थी २ हजार ५ सय रुपैयाँ बराबरका जकेट, झोला, कापी, पेन्सिल, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।
पछिल्लो समयमा बैवाहिक वर्षगाठमा अधिकाँश नागरिकले फजुल खर्च गर्ने भएकाले आफुले आफ्नो वर्षगाठमा हुने खर्चलाई संचित गर्दै आफ्नै वडामा रहेको बालबालिकालाई शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण गरेको वडाध्यक्ष बमले बताए । उनले भने, ‘म सेवक हो मलाई जनताले भोट दिएर वडाध्यक्षमा विजयी गराउनुभयो, मैले पनि जनताकै हितमा काम गर्ने छु र गरेको पनि छु ।’
शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न सवैलाई बमले आग्रह गरे । शैक्षिक सामाग्री पाएपछि नानीहरुलाई विद्यालय आउन सहयोग पुग्ने अभिभावकहरुले बताएका छन् ।


विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरुको पढाईलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुगेको अभिभावकहरुको भनाई छ । बमले १६ जना बालबालिकालाई करिव ४० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेका छन् । यो पाठ अन्यले पनि सिक्न जरुरी देखिन्छ ।