नगरप्रमुखले आफु चढ्ने गाडि जनतालाई दिए

कालीकोटः जिल्लामा अहिले कोरोना महामारीका रुपमा फैलिएको छ । यो महामारीका बेला स्थानिय जनताको स्वास्थ्यलाई ध्यानमा राख्दैं जिल्लाको तिलागुफा नगरपालिकले उदाहरणीय कार्यको थालनी गरेको छ ।
जिल्लाको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले आफु चढ्ने नगरपालिकाको गाडि जनतालाई हस्तान्तरण गरेका छन् । उनले आफु चढ्ने गाडि अहिलेको माहामारीमा नागरिकको सहजताका लागि सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न भन्दै जनतालाई दिएका छन् ।
तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले प्रयोग गर्ने गरेको बा.२ झ ४२६५ नम्बरको स्कारपियो यतिबेला नगरका विरामी बोक्न दौडिरहेको छ । नगरपालिकाका सूचना अधिकारी चक्र प्रसाद अधिकारीले भने ‘नगर प्रमुख चढ्ने सवारी साधनलाई कोरोना संक्रमीतको सेवाकोलागि तयार गरेर, विरामी बोक्न पठाएका छौं ।’ स्कारपियो सहित हामीसंग एउटा एम्बुलेन्स पनि छ तिलागुफाका दिपेन्द्रबहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरि जनताको सेवामा लाग्नका लागि नगरप्रमुखले आफु चढ्ने गाडि पनि नागरिकको सुरक्षाका लागि प्रयोग गर्न हामीलाई हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख रतनबहादुर शाहीले अहिलेको महामारीमा जनताको सेवाका लागि गाडि दिएको बताए । उनले भने, ‘जनताले आफ्नो सेवाको लागि हामीलाई जिताएका हुन् यो महामारीमा पनि जनताको समस्यालाई हामीले नहेरे कसले हेर्दिने ।’ शाहीले अगाडि भने, ‘नगरपालिकाका नागरिकको स्वास्थ्य सुरक्षा नगरपालिकाले लिन्छ, अहिले नगरपालिकामा अक्सिजन सहितको आइशोलेसन निमार्ण गरिसकेका र्छौ । कुनै पनि नागरिकले कोरोनाबाट ज्यान गुमाउन नपर्ने गरि नगरपालिकाले आफुसंग भएको स्रोत साधन नागरिकको स्वास्थ्य सुरक्षामा प्रयोग गर्ने छ ।’
उनले भने, ‘घरमै बसेकामध्ये कसैलाई स्वास्थ्य समस्या भयो, अफ्ठयारो महसुस भएमा तत्काल नगरपालिकामा खबर गरेमा हामीले गाडी तत्काल पठाउछौं । विरामीको स्वास्थ्य अवस्था हेरेर आइसोलेशन वा अस्पताल लैजाने काम हुनेछ ।’ अहिले महामारिमा हुने खाने मान्छेले त एम्बुलेन्स पाउर्दैनन् भने सर्वसाधरण नागरिकलाई थप समस्या हुने भएकाले आफुले आफु चढ्ने गाडि नागरिकको सेवाका लागि तयार गरेको नगरप्रमुख शाहीले बताए । उनले भने सर्वसाधारण नागरिको समस्यालाई मध्येनगर गरि गरी तत्काल आफु चढ्ने गाडीलाई कोभिड विरामी बोक्नेगरी प्रयोग ल्याइएको छ ।